बिहिवार , आषाढ ३२, २०८३
भैरहवा, ३२ असार । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट, नोट छाप्न प्रयोग गरिएका उपकरण र त्यसमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ३६ वर्षीया गंगाकुमारी पुर्वछाने, पोखरा महानगरपालिका–१ का कृष्ण भन्ने किरण कृष्ण तिवारी, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का रामचन्द्र खत्री, कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का सञ्जय थारू, दोलखाको शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ र भारतको पश्चिम बंगाल सिलुगढीका ४९ वर्षीय बासुमित्र आनन्द रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार असार २६ गते बुटवलमा चिनजानकै गंगा कुमारी पूर्वछानेले एक महिलालाई ई–सेवा (क्यूआर) मार्फत् २ हजार १ सय रुपैयाँ ट्रान्सफर गर्न लगाएर दुईवटा हजारका नोट दिनुभएको थियो । पछि ती नोट नक्कली भएको जानकारी पाएपछि पीडितले इलाका प्रहरी कार्यालय बुटवलमा कारवाही गरी पाउँ भनी निवेदन दिनुभएको थियो । पूर्वछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा नक्कली नोट, छाप्ने मेसिनरी उपकरणसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । अनुसन्धानका क्रममा बुटवल र पोखराका आरोपीहरुका घरबाट समेत नक्कली एक हजार दरका नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
असार २८ गते रामचन्द्र खत्रीलाई पक्राउ गरी थप अनुसन्धान गर्दा बुटवल उपमहानगरपालिका–१३, जितगढीस्थित बाल कुमारी घर्ती मगरको दुईवटा कोठा भाडामा लिइ नक्कली नोट छाप्ने कम्पनी नै सञ्चालन गर्दै आएको कुरा खलेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।
असार २९ गते उक्त स्थानमा खटिएको प्रहरी टोलीले कानूनबमोजिम खानतलाशी गर्दा दशीका सामानहरुसहित मानिस पनि नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखराबाट पक्राउ परेका तिवारीको साथबाट एकहजार दरका ४७८ थान र बुटवलबाट पक्राउ परेको पुर्वछानेको घरबाट एकहजार दरका १०३ थान नक्कली नोट बरामद डीएसपी चन्दले जानकारी दिनुभयो ।
नक्कली नोटसहित फोटोकपी मेसिन, डेल कम्पनीको ल्याप्टप, नक्कली नोट कटिङ गर्न प्रयोग हुने मेसिन, नक्कली नोट प्रिन्ट गर्न प्रयोग हुने प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग गर्ने पेपर १ कार्टुन, नक्कली नोट बनाउन प्रयोग हुने केमिकल, लेमिलेसन मेसिन, प्लाष्टिक पेपर र ६ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रुपन्देही इलाका प्रहरी कार्यालय बुटवलले ‘अपरेसन चार्ली’ नाम दिएर नक्कली नोटसम्बन्धी अनुसन्धान गरेका थिए । पक्राउ परेका ६ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसूरमा पाँच दिनको म्याद थप भइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij