२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण, शिक्षामा लगानी बढाउन जोड

बुधवार , आषाढ ३१, २०८३

  • 676
    Shares
  • 676
    Shares
  • अर्घाखाँची, ३१ असार । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ स्थित श्री आदर्श आधारभूत विद्यालयमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । वडाअध्यक्ष काजीबाबु ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीको उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लक्ष्मी शर्मा ज्ञवालीले गुणस्तरीय शिक्षा र विद्यार्थीको नियमित उपस्थितिका लागि स्थानीय तहको लगानीसँगै अभिभावकको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता सहयोगले विद्यार्थीमा आत्मविश्वास बढ्ने र पढाइप्रति थप उत्साह पैदा हुने विश्वास व्यक्त गर्नुभयो।

    वडाअध्यक्ष काजीबाबु ज्ञवालीले शिक्षालाई वडाको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले पोशाक वितरण गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयको शैक्षिक तथा भौतिक विकासमा आवश्यक सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    गाउँ कार्यपालिका सदस्य देवकला ताम्राकारले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि समुदाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । 

    वडा सदस्य फिरोज मियाले शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर कुमालले विद्यालयको समग्र विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागीता थियो । सो अवसरमा यसअघि सम्मान गर्न बाँकी रहेका हीरक सम्मानसमेत प्रदान गरिएको थियो ।

    कार्यक्रमले विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायबीच सकारात्मक उत्साह थपेको विद्यालयले जनाएको छ । वडा सचिव शालिकराम पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।