२०८३, आषाढ २८ गते

Jul 12 2026 | २०८३, आषाढ २८ गते

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

आइतवार , आषाढ २८, २०८३

  • 19
    Shares
  • 19
    Shares
  • दाङ, २८ असार । लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेको छ ।

    लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार आयोजित कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा म्यानेजर गरी १ सय ५ जनालाई सम्मान गरिएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

    प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाडीलाई ११ हजार रुपैयाँ, रजत पदक विजेतालाई ९ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ६ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मानित सबैलाई खादा, अविर र सम्मानपत्र समेत प्रदान गरिएको परिषद्ले जनाएको छ ।

    कार्यक्रमलाई सम्बोधन मन्त्री पाण्डेयले खेलाडीको मनोबल उच्च बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकाससँगै खेल पर्यटनको प्रवद्र्धन गर्न सके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो ।

    प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमले राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा हासिल गर्न परिषद्ले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने बताउनुभयो ।

    गत जेठ २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीले १२ स्वर्ण, १५ रजत र १८ कास्य पदक जित्दै समग्रमा तेस्रो स्थान हासिल गरेका थिए ।

    प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो, उसुलगायत विभिन्न विधामा लुम्बिनीका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।