आइतवार , आषाढ २८, २०८३
भैरहवा, २८ असार । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ११ औं पदस्थापन समारोहका अवसरमा ‘रोटरी ह्याप्पी स्कूल छात्रवृत्ति कोष’ को औपचारिक शुभारम्भ गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर रोटेरियन विष्णु बहादुर कार्कीले उक्त छात्रवृत्ति कोषको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै कार्कीले शिक्षा क्षेत्रमा गरिएको यो दूरदर्शी पहलले आर्थिक रूपमा विपन्न तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोटरी वर्ष २०२६–२७ का लागि क्लबका अध्यक्ष गंगाधर भण्डारी पदस्थापित हुनुभएको थियो । आफ्नो सम्बोधनमा अध्यक्ष भण्डारीले ‘रोटरी ह्याप्पी स्कूल छात्रवृत्ति कोष’ लाई क्लबको दीर्घकालीन सामाजिक उत्तरदायित्वको महत्वपूर्ण अभियानका रूपमा अघि बढाइने बताउनुभयो । उहाँले कोषबाट प्राप्त हुने ब्याज रकममार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो ।
यस कोषमार्फत दुर्गम तथा आवश्यकतामा रहेका विद्यालयहरूमा ह्याप्पी स्कूल परियोजनालाई थप प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने क्लबको लक्ष्य रहेको छ । कार्यक्रमका सहभागीहरूले यस अभियानलाई रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ऐतिहासिक तथा दीर्घकालीन प्रभाव पार्ने पहलका रूपमा प्रशंसा गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij