शुक्रवार , आषाढ २६, २०८३
काठमाडौं, २६ असार । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औँ विश्वविद्यालय सभा बैठक शुक्रबार सिंहदरबारमा सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३÷०८४ का लागि ४९ करोड ८८ लाख रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्यअनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्न निर्देशन दिनुभयो ।
बैठकमा उपकुलपति डा. माणिकरत्न शाक्यले विश्वविद्यालयमा हाल २ हजार ६ सय २० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । विश्वविद्यालय अन्तर्गत ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो । विश्वविद्यालयका ८ सम्बन्धनप्राप्त कलेज र ८ सहकार्यमा सञ्चालित कलेज रहेका छन् । विश्वविद्यालयमा २०२ अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको जानकारी पनि प्रस्तुत गरिएको थियो ।
विश्वविद्यालयले चीन, जापान, भारत, कोरिया लगायतका विश्वविद्यालय तथा संस्थासँग थप समझदारीपत्र सम्पन्न गरी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गरेको, पाठ्यक्रममा माइक्रो–सिलेबस प्रणाली लागू गरेको तथा कम्प्युटर आधारित परीक्षा र प्रोक्टरिङ प्रणाली विस्तार गरी परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाएको उल्लेख गरिएको छ ।
त्यस्तै विश्वविद्यालयले आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम अघि बढाएको र आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा समेत प्रगति हासिल गरेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो ।
बैठकको प्रारम्भमा उपकुलपति डा. माणिकरत्न शाक्यले स्वागत तथा रजिष्ट्रार इन्द्रप्रसाद काफ्लेले सञ्चालन गर्नुभएको थियो । बैठकमा विश्वविद्यालय सभाका सदस्य, पदाधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागीता रहेको विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिनुभयोे ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij