शुक्रवार , आषाढ २६, २०८३
काठमाडौँ, २६ असार । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले हालसम्म पनि रोजगारी अवसर सृजना गर्ने कार्ययोजना समेत प्रश्तुत गर्न नसकेको दाबी गर्नुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रमुख सचेतक ओलीले देशमा रोजगारीको अवसर सृजना गर्ने भन्ने बाँचाका साथ बनेको सरकारले सोही कार्य गर्नका लागि हालसम्म पनि कार्ययोजना नै ल्याउन नसक्ने बिडम्वनापूर्ण भएको पनि बताउनु भयो ।
उहाँले वर्तमान सरकारले युवाहरुलाई देशमा बसेर केही गर्ने वातावरण समेत बनाउन नसकेको गुनासो गर्नुभयो । गणेश नेपाली मृत्यु प्रकरणलाई उद्धृत गर्दै प्रमुख सचेतक ओलीले वर्तमान सरकारले युवाहरुलाई पनि देश भित्रै केही गर्न सकिन्छ भन्नेकुरामा आशा जगाउन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘निर्वाचन अघि सत्ता पक्षले नेपाली युवालाई आफ्नै देशमा रोजगारी सृजना गर्ने ठूलो बाचा गरेको थियो । तर सरकार गठन भएको सय दिन वितिसक्दा सय जना युवा पनि रोजगारीको आशामा विदेशबाट फर्किएको देखिँदैन ।
किनभने सरकारले रोजगारी सृजना गर्ने कार्य योजना आजसम्म प्रश्तुत गर्न सकेको छैन । प्रश्न रोजगारी सृजनाको संख्याको मात्रै होइन, नेपालमा नै बस्न सकिन्छ भन्ने भावना सरकारले जगायो कि जगाएन ? भन्ने हो । हिजो भर्खरै एक जना युवाले राहदानी विभाग अगाडि आफैले आगो लगाएको घटना हामीमाझ ताजा छ ।
ती युवाले देशमा आफूले गरिखाने आशा देखेर आगो लगाए कि गरिखाने आशा नदेखेर ? मैले प्रश्न मैले सत्ता पक्षका सम्पूर्ण राख्न चाहँे । प्रधानमन्त्री, मन्त्री, सबै सत्तापक्षका सांसदहरुलाई पनि मेरो यो प्रश्न हो । रोजगारी सृजना गर्ने निजी क्षेत्रनै आज सबैभन्दा बढी निराश हुन पुगेको छ ।’
प्रमुख सचेतक ओलीले सरकारको कारण रोजगारीको अवसर सृजना गर्ने निजी क्षेत्र समेत निराश अवस्थामा पुगेको जिकिर समेत गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij