शुक्रवार , आषाढ २६, २०८३
बुटवल, २६ असार । इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा पत्रकार सुशीला पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । वर्ष २०२६/२०२७ का लागि पोखरेल क्लबको अध्यक्षमा चयन हुनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि इनरह्वील डिष्ट्रिक ३५० नेपालका चेयरमेन डा.सृष्टि श्रेष्ठ प्रजापतिले इनरह्वील क्लबहरुले विशेष गरी महिला सशक्तिकरणका कार्यक्रममा केन्द्रित रहन आग्रह गर्नुभयो । श्रेष्ठले स्वास्थ्य, वन र वातावरण संरक्षणका लागि वृक्षरोपण र समाजमा आवश्यकताका आधारमा गुणात्मक काम गर्न निर्देशन दिनुभयो । चेयरमेन श्रेष्ठका अनुसार इनरह्वील क्लबहरुले समाजमा अझ प्रभावकारी भूमिका खेल्दै आपसी मित्रतालाई कायम राख्दै नयाँ सोच र नयाँ उर्जाका साथ समाजमा सकारात्मक सन्देश दिने गरी काम गर्न आग्रह गर्नुभयो । उत्कृष्ट कार्यक्रमहरु गरेर उदाहरण देखाउन शुभकामना दिँदै आफूले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा इनरह्वील क्लब अफ बुटवलका वर्ष २०२६/२०२७ का अध्यक्ष लुना श्रेष्ठले नयाँ कार्यसमितिलाई उत्कृष्ट कार्यक्रम गरी अगाडि बढ्न शुभकामना दिनुभयोे ।
कार्यक्रममा पूर्वअध्यक्ष राधा भट्टराई अधिकारी, राधिका रिजाल, तृष्णा श्रेष्ठलगायतले शुभकामना दिनुभएको थियोे । क्लवको वर्ष २०२६/२०२७ का लागि आइपीपीमा जुनु भण्डारी, भिपिमा गिता खनाल, सचिवमा सुधा न्यौपाने, कोषाध्यक्षमा कविता परियार, आइएसोमा राधिका गौतम, एडिटरमा प्रेरणा केसी (विमला), एक्जुकेटिभ मेम्बरमा सविता वि.क., कल्पना खनाल, जोइन्ट सेक्रेटरीमा बिजु पौडेल र जोईन ट्रेजररमा सृष्टि अधिकारी भुसाल चयन हुनुभएको छ ।
नवर्निवाचित पदाधिकारीहरुको पद हस्तान्तरणसमेत भएको छ । वर्ष २०२५÷२०२६ का अध्यक्ष जुनु भण्डारीले नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गर्नुभएको हो । क्लबले सोही अवसरमा रुपन्देही जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका १३ जना विद्यार्थीहरूलाई जनही ५ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान समेत गरेको छ ।
अध्यक्षमा चयन हुनुभएकी पोखरेल रेडियो मुक्तिमा कार्यरत हुनुहुन्छ । पत्रकारिता र सामाजिक कार्यमा सक्रिय पोखरेलले महिला सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आउनुभएको छ । क्लबको अध्यक्षमा चयन भएसँगै उहाँले समाजसेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने बताउनुभयो । उहाँले महिला नेतृत्व विकास, मित्रता, समाजसेवा र मानवीय सहयोगलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्नुको साथै महिला सशक्तिकरण तथा सामुदायिक विकासका गतिविधिहरूलाई सक्रिय बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा इनरह्वील क्लबका पूर्वअध्यक्षहरू, सम्पूर्ण शाखाका अध्यक्ष तथा प्रतिनिधि इनरव्हील सदस्यहरूको उपस्थिति रहेको थियो । सचिव सुधा न्यौपानेले सञ्चालनमा भएको कार्यक्रममा भिपी गीता खनालले धन्यवाद दिनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij