२०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

लुम्बिनीमा थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित

बुधवार , आषाढ २४, २०८३

  • 781
    Shares
  • 781
    Shares
  • दाङ, २४ असार । लुम्बिनी प्रदेश सभाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न कानुनी आधार तयार गर्ने उद्देश्यले उक्त विधेयक तयार पारिएको हो । 

    प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत बुधवार राती बसेको १८ औं बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गर्नुभयो ।

    थारू समुदायमा परम्परागत रूपमा प्रचलित कविला गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सालगायतका मौलिक परम्पराको पहिचान, अभिलेखीकरण, संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि आवश्यक कानूनी व्यवस्था गर्ने उद्देश्यले उक्त विधेयक ल्याइएको छ ।

    पारित विधेयक थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन सम्बन्धी ऐन, २०८३ का रूपमा तत्काल लागू हुनेछ । यो ऐन प्रदेशभित्र थारू समुदायको बसोबास रहेका क्षेत्रमा कार्यान्वयन हुने व्यवस्था गरिएको छ । यस ऐनले थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा र परम्परागत सामाजिक अभ्यासको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।