
शनिवार , जेठ १, २०७८
बुटवल, १ जेठ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा लैजान सहमत भएका छन् । वरिष्ठ नेता माधव कुुमार नेपाल समुहसंगको बैठकमा पार्टी र संगठनलाई पुरानै अवस्थामा लैजान ओली सहमत भएको नेपाल समुहका नेता घनश्याम भुसालले बताए ।
विगतदेखि नै नेपाल पक्षले उठाउँदै आएको पार्टीको सबै संगठनलाई २०७५ जेठ २ को अवस्थामा लैजाने विषयमा ओली पक्ष सहमत भएको नेता भुसालले बताए । नेता भुसालले भने-‘एमालेमा चुलिएको विवाद मिलाउने प्रयास स्वरुप प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालसहितको संयुक्त बैठक सकिएको छ । प्राविधिक विषय पुरा गर्न एक कार्यदल बनाउने निर्णय गरिएको छ भने उक्त कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई नै दिइएको छ ।’
छिट्टै दुवै नेताहरु बसेर कार्यदलका सदस्यहरुको नाम टुंगो लगाउने निर्णय भएको नेता भुसालले संचारकर्मीहरुलाई जानकारी गराएका छन् । नेपाल समुहले पार्टीको नवौं महाधिवेशनको विधान, नीति र सिद्धान्तका आधारमा पार्टी संचालन गर्ने गरी २०७५ जेठ २ को अवस्थामा फर्काउनका लागि अध्यक्ष ओलीसँग अन्तिम पहल गर्ने निर्णय गरेको थियो ।
ओली पक्षले भने नेपाल पक्षका कुनै पनि माग पुरा नहुने भन्दै आत्मालोचनासहित पार्टीमा फर्किन दवाव दिइरहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij