२०८३, आषाढ २१ गते

Jul 05 2026 | २०८३, आषाढ २१ गते

त्रिशूल साकोसको वार्षिक कार्ययोजना तथा योजना तर्जुमा कार्यशाला

आइतवार , आषाढ २१, २०८३

  • 382
    Shares
  • 382
    Shares
  • भैरहवा, २१ असार । श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्था लिमिटेड भैरहवा, रुपन्देहीले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना (२०८३–२०८७) तर्जुमा गर्ने उद्देश्यले आयोजना गरेको दुईदिने कार्यशाला सम्पन्न गरेको छ ।

    संस्थाको अध्यक्ष धिरा कुमारी क्षेत्रीको अध्यक्षता तथा उपाध्यक्ष मनमीत सिंह गान्धीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यशालामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को तालिम विभागका वरिष्ठ अधिकृत कोमल राज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

    कार्यशालामा संस्थाको वर्तमान अवस्था, वित्तीय तथा संस्थागत विश्लेषण, स्वोट विश्लेषण, रणनीतिक प्राथमिकता, वार्षिक लक्ष्य, जोखिम व्यवस्थापन, सुशासन, प्रविधिमैत्री सेवा विस्तार, सदस्य केन्द्रित कार्यक्रम तथा दीर्घकालीन संस्थागत विकासका विषयमा समूहगत छलफल, प्रस्तुतीकरण र अन्तरक्रिया गरिएको थियो । छलफलबाट प्राप्त सुझावका आधारमा आगामी चार वर्षका लागि संस्थाको रणनीतिक दिशा तथा आर्थिक वर्ष २०८३/०८४ का प्रमुख कार्यक्रमहरू तय गरिएको संस्थाले जनाएको छ ।

    कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति, कानूनी सल्लाहकार, सल्लाहकार तथा कर्मचारीहरूको सहभागीता थियो । सहभागीहरूले संस्थाको दिगो विकासका लागि साझा दृष्टिकोण, उत्तरदायित्व र प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

    WhatsApp Image 2026-07-05 at 12.00.07 PM (1).jpeg

    समापन समारोहमा संस्थाका कानूनी सल्लाहकार लय प्रसाद भट्टराईले मन्तव्य व्यक्त गर्दै कानूनी अनुशासन, सुशासन र योजनाको प्रभावकारी कार्यान्वयन नै संस्थाको सफलताको आधार भएको बताउनुभयो । संस्थाको अध्यक्ष धिरा कुमारी क्षेत्रीले सम्पूर्ण सहभागी, प्रशिक्षक तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कार्यशालाबाट तय भएका योजना र रणनीतिलाई व्यवहारमा उतारेर संस्थालाई अझ सक्षम, पारदर्शी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन संस्थाको प्रबन्धक सरिता रानाले गर्नुभएको थियो ।