आइतवार , आषाढ २१, २०८३
बुटवल, २१ असार । रोटरीमार्फत समाज रूपान्तरणको प्रभावकारी अभियान चलाउन सकिने एक कार्यक्रमका बोल्ने वक्ताहरुले बताएका छन । सेवा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमार्फत सकारात्मक परिवर्तन आजको आवश्यकता भएको भन्दै योे अभियानमा रोेटरीको महत्वपूर्ण भुमिका रहने उनीहरुकोे दावी छ ।
रोटरी क्लब अफ बुटवलको १६१९ औं नियमित बैठक तथा रोटरी वर्ष २०२६/२७ को पहिलो बैठकमा बोल्ने बक्ताहरुले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खानेपानी, सरसफाइ तथा युवा नेतृत्व विकास जस्ता क्षेत्रमा रोटरीबाट महत्वपूर्ण योगदान भएको बताउनुभयो ।
कार्यक्रममा क्लबका ट्रेनर अजयमान श्रेष्ठले समयसापेक्ष परिवर्तनको अभियानमा रोटरी अघि बढेको भन्दै पछिल्लो समय एआई र रोटरी विषयमा तालिमहरुलाई जोड दिएको बताउनुभयो । रोटरी मात्र सीमित नगरी यसलाई आफ्नो जीवनशैलीमा जोड्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा क्लबका अध्यक्ष यदुनाथ पाण्डेयले फेलोसिप महिनासहित कार्यकाल सुरु गरेर विभिन्न अभियानलाई जोड्ने बताउनुभयो । समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने परियोजनामा विशेष प्राथमिकता दिने समेत उहाँले बताउनुभयो । समाजमा देखिएका विभिन्न चुनौती समाधानका लागि सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै रोटरीले यस्ता साझेदारीलाई थप सुदृढ बनाउने उहाँले धारणा राख्नुभयो । सेवा नै रोटरीको मूल आधार भएकाले समुदायको आवश्यकताअनुसारका कार्यक्रमलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो ।
चार्टर सदस्य विध्याकेशर जोशी, डा. मनोहर जोशी, पूर्वअध्यक्ष करुण खनाल, आमोद सिमागैडा, पुरन श्रेष्ठ, तेस्रोपटक सर्जेन आर्म डिल्ली कुमार श्रेष्ठ, मेनटर हरि पौडेलले नयाँ नेतृत्व जन्माउँदै फेलोसिप र सामाजिक कार्य गर्ने संस्था भएको हँुदा यसको मर्मलाई बुझाउँदै लग्न सुझाव दिनुभयो ।
कार्यक्रममा सामाजिक उत्तरदायित्व, स्वयंसेवा र मानवीय सेवाको संस्कृतिलाई अझ व्यापक बनाउन युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइयो । साथै, आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विपद् व्यवस्थापनका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष पाण्डेयले नयाँ कार्यसमितिलाई परिचय तथा पिन वितरण गर्नुभएको थियो । यसैबीच यो वर्ष क्लबमा ३० जना नयाँ सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको क्लबका सचिव दिवाकर घिमिरे बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij