शनिवार , आषाढ २०, २०८३
के वर्तमान समयका शासकहरू क्रुर बन्दै छन् ? वा शासकले राज्यको अवधारणा बिर्सिएका छन् ? वास्तवमा राज्य नागरिकहरूको जननी हो । राज्य निश्चित भौगोलिक क्षेत्रफल, स्थायी जनसंख्या, कुटनीतिक सम्बन्धमा जान सक्ने क्षमता र सरकारको उपस्थितिमा मात्र विश्व मानचित्रमा अस्तित्व राख्न सक्छ । त्यसै गरी कुनै पनि राज्यको सरकार प्रमुख नै राज्य सञ्चालकको रुपमा रहन्छ । राजतन्त्र होस् वा लोकतन्त्र, सरकार प्रमुखको गतिविधिले राज्य विकासको खाका कोर्ने गर्छ । राज्य सञ्चालकको धर्म, नैतिकता जस्ता सद्गुणले निजलाई नागरिक र राज्यप्रति उत्तरदायी बनाउँछ भने शासकमा नैतिकता, धर्मजस्ता गुण नरहे देशले विनाशको बाटोमा पाइला सार्छ । तसर्थ, धर्मले राज्य सञ्चालकलाई नैतिकता सिकाउने र त्यसको प्रभाव राज्यका साथसाथै नागरिक विकासमा हुने हुँदा सुशासनका लागि धार्मिक ज्ञान आवश्यक छ ।
बुद्धले बताएका राज्य सञ्चालकका १० गुण
बौद्ध धर्ममा राज्य सञ्चालनका लागि शासकमा हुनुपर्ने १० गुणहरूको उल्लेख गरिएको छ । यी दश गुणहरूलाई दश राजधम्म वा दशराज धर्मका नामले चिन्ने गरिन्छ । दशराज धर्म केवल शासकहरूका लागि मात्र होइन, सम्पूर्ण नेतृत्व गर्ने व्यक्तिका लागि भगवान बुद्धले दिनुभएको आचरणयुक्त ज्ञान हो । दशराज धर्मलाई बौद्ध धर्ममा कलिङ्ग–बोधि जातक कथाका रुपमा सुत्त पिटकको खुद्दक निकायमा राखिएको छ ।
वर्तमान समयमा शासकहरूले आफ्नो धर्म बिर्सिएको अवस्थामा भगवान बुद्धले २६०० वर्ष अगाडि तत्कालिन शासकहरूलाई दिएको नियम सार्थक बन्न सक्छ । वास्तवमा दशराज धर्म नैतिक नियमहरू हुन् जसले नैतिकता र न्यायपूर्ण नेतृत्वको महत्वलाई जोड दिन्छन् । तसर्थ, सुशासन स्थापना गर्नका लागि भए तापनि राज्य सञ्चालकले दशराज धर्मको अनुशरण गर्नु उपयुक्त देखिन्छ ।
बौद्ध दृष्टिमा शासक, सत्ता र अनित्यता
शासकहरू नागरिक समाजकै प्रतिबिम्ब हुन्, किनकी राज्यको शासन व्यवस्था अन्ततः नागरिकहरूको चेतना, नैतिकता, मूल्य–मान्यता तथा सामूहिक आकांक्षाबाट निर्देशित हुन्छ । इतिहासले देखाउँछ कि एक शासकको अन्त्य भएपछि अर्को शासकको उदय हुन्छ; कोही मृत्युका कारण शासनबाट अलग हुन्छन् भने कोही राजनीतिक परिवर्तन, पराजय वा समयको प्रवाहसँगै सत्ताबाट बाहिरिन्छन् । तथापि, व्यक्तिको परिवर्तन भए पनि शासन प्रणाली र राज्य सञ्चालनको प्रक्रिया निरन्तर रूपमा अगाडि बढिरहन्छ । यही परिवर्तनशीलता र अस्थायीत्वको सिद्धान्तलाई बौद्ध धर्ममा अनिच्चा वा अनित्यता भनिन्छ, जसले संसारका सबै संयोजित वस्तु, संस्था तथा पद–प्रतिष्ठा परिवर्तनशील र नश्वर छन् भन्ने सत्यलाई उद्घाटित गर्दछ । यस दृष्टिले हेर्दा कुनै पनि शासक राज्यमा स्थायी वा अमर रहन सक्दैन । तर, उनले आफ्नो शासनकालमा न्याय, जनकल्याण, नैतिक आचरण तथा लोकहितकारी कार्यमार्फत समाजमा सकारात्मक प्रभाव छोड्न सकेमा उनको स्मृति, आदर्श र योगदान दीर्घकालसम्म जीवित रहन सक्छ । त्यसैले शासकको वास्तविक अमरताको आधार सत्ता होइन, बरु जनहितमा आधारित उसका सद्कर्म, नैतिक नेतृत्व र लोकप्रिय योगदान नै हो ।
कस्तो बन्ने शासक ?
भगवान बुद्धले दशराज धर्ममार्फत दिएको ज्ञानले शासन पद्दति सुधार मात्र गर्दैन, यसले शासकलाई लोकप्रिय, अमर र नैतिकवान बनाउन मद्दत पुर्याउँदछ । बौद्ध ज्ञान र धर्मको अनुसरणछि भारतका मौर्य वंशको सम्राट अशोक, धर्मअशोकका नामले चिनिनु र अमर बन्न पुग्नु यसको उदाहरण हो । तसर्थ, दशराज धर्म वर्तमान समयमा पनि लोककल्याणकारी राज्य र नैतिकवान शासकका लागि उत्तिकै महत्वपूर्ण छ ।
दान, शील, परित्याग, अज्जब, मद्दव, तप, अक्रोध, अविहिंसा, क्षन्ती र अविरोधन गरी जम्मा दश नियमहरू भगवान बुद्धले तत्कालीन शासकहरूका लागि दिनुभएको थियो । यी नैतिक नियमहरू वर्तमान समयमा पनि उत्तिकै महत्वपूर्ण छन् ।
बुद्धकालीन समयदेखि २६०० वर्ष भविष्यमा आइपुग्दा मानिसहरूले धन–आर्जनलाई जीवनको केन्द्र बनाएका छन् । अझै सुधारिएको शासन पद्दतिले चिनिने शासन व्यवस्थामा शासकहरू भ्रष्टाचारमार्फत धन आर्जनको इच्छा राख्दछन् । दशराज धर्मको पहिलो नियम ‘दान’ ले राज्य सञ्चालकलाई सम्पत्ति लोभबाट मुक्त बनाई आवश्यक परेका व्यक्ति वा सामान्य जनताप्रति उत्तरदायी र दानी बनाउन सिकाउँछ । यो कुरा अनुशरण भए अख्तियारसम्बन्धी अपराध कम हुनुका साथै समानताको उदय हुन्छ ।
शासकहरूमा हुनुपर्ने र दशराज धर्मको दोस्रो नियम ‘शील’ जसको अर्थ नैतिक आचरण हुन्छ, वर्तमान समयमा शासन प्रणालीको माग हो । अचेल शक्तिमा पुग्नको लागि होस् वा तीव्र लाभ लिन होस्, जनप्रतिनिधिहरू अनैतिक बाटो रोज्ने गर्छन् । कानूनलाई सर्वोपरी राख्नुको सट्टा कानूनमा कमजोरी खोजी आफ्नो स्वार्थ पूरा गर्न खोज्दछन् । शीलसम्बन्धी नियमले नेतृत्वकर्तालाई सदाचारको बाटोमार्फत अनुशासित जीवन बिताउन मद्दत गर्छ ।
शासकको आचरण सम्बन्धी एक भनाइ छ–‘शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ । ’त्यसो भन्नुको कारण वर्तमान समयमा नेतृत्वकर्ताले आफूलाई सर्वोत्तम शक्तिवान बनाउने आकांक्षा राख्नु र गलत काम गर्नु हो । स्वार्थ लिएर राजनीति गर्ने र नागरिक आवाजको कदर नगरी आफूलाई नै सर्वोत्तम राख्ने सोचाइको विरुद्धमा दशराज धर्मको तेस्रो नियम ‘परित्याग’ वा ‘परोपकार’ ले ज्ञान दिन्छ । व्यक्तिगत स्वार्थभन्दा क्षमतालाई आधार बनाई आफूभन्दा क्षमतावान व्यक्ति भए उनीहरूको लागि सत्ता छोड्न सक्ने र नागरिकको काम गर्नका लागि आरामलाई समेत त्याग गर्न सक्नुपर्ने गुण राज्य शासकमा हुनुपर्ने कुरा यो नियमले गर्छ ।
दशराज धर्मको चौथो नियम ’अज्जब’ को अर्थ इमानदारिता हुन्छ । कुनै पनि शासक होस् वा कर्मचारी, आफ्नो जिम्मेवारीप्रति इमान्दार रहेको बिरलै देख्न पाइन्छ । आफ्नो जिम्मेवारी, नागरिक र कानूनप्रतिमात्र एक शासकले इमान्दारिता देखाउने हो भने देश विकास हुन समय लाग्दैन ।
शासकहरूको व्यवहार र बोलीप्रति पटकपटक विभिन्न समयमा प्रश्नहरू उठिरहेका हुन्छन् । शक्ति र सत्तामा पुगेपछि अहंकार बढ्दा शासकको व्यवहार तथा वचनमा शिष्टता नदेखिने प्रवृति दिनानुदिन बढ्दो छ । दशराज धर्मको पाँचौ नियम ‘मद्दव’ वा नम्रताले यसको समाधान देखाउँछ । यो नियमले शासक नागरिकप्रति सधैं बफादार र नम्र हुनुपर्ने कुरा गर्छ । यसो गर्दा जनताले सजिलै आफ्नो समस्या र गुनासो आफ्नो प्रतिनिधिसामु राख्न सक्छन् र त्यो समस्याको समाधानले शासकलाई नागरिक प्रिय बन्न सहयोग पुर्याउँछ ।
दशराज धर्मका अर्का दुई नियम ‘तप’ र ’अक्रोध’, असल शासकमा हुनुपर्ने गुणहरू हुन् । अक्रोधले शासकलाई रिस, द्वेष र प्रतिशोधबाट मुक्त रहन सिकाउँछ । यसैगरी तपले आफूभित्रका कु–बाटो डोर्याउने भावनालाई आत्मनियन्त्रण गर्न सिकाउँछ । यसो गर्दा नेतृत्वकर्ता मृदु र लोकप्रिय हुन्छन्, फलस्वरूप सत्ता स्थायी हुन्छ । ‘अविहिंसा’ वा अहिंसा, नेतृत्वकर्ताको व्यक्तित्वमा हुनैपर्ने गुण हो । वर्तमान समयमा नागरिकहरू समस्या आएको अवस्थामा विरोध गर्न जम्मा हुन्छन् । त्यस्तो अवस्थामा पनि हिंसाको बाटो भन्दा विवाद समाधानका लागि वार्तामा जानु शासकका लागि उपयुक्त हुन्छ भन्ने ज्ञान यो नियमले दिन्छ ।
दशराज धर्मले राज्य सञ्चालकलाई दिने अर्को नेतृत्वसम्बन्धी नियम ‘क्षन्ति’ हो । जसको अर्थ धैर्य भन्ने हुन्छ । राजनीति र शासन पद्दति धैर्यताको खाँबोमा अडिका हुन्छन् । नागरिकहरू शासकको कामप्रति असन्तुष्ट हुन सक्छन् । शासक प्रशंसासँगै आलोचनामा जेलिएका हुन्छन् । तसर्थ, कठिन परिस्थितिबाट भाग्नु भन्दा नेतृत्वकर्ताले धैर्य भएमा समस्या समाधान गर्ने बाटो खुल्छ ।
दशराज धर्मको अन्तिम तर, महत्वपूर्ण नियम ‘अविरोधन’ हो । यो नियमले न्याय र जनमतको सम्मान गर्न सिकाउँछ । शासक जनहितको विपरीत जानुहुँदैन, सबैसँग समन्वय गरी काम गर्न सक्नुपर्छ भन्ने ज्ञान यस नियमले सिकाउँछ । यसका साथै निष्पक्षता र न्याय सर्वोत्तम राखी शासन सञ्चालन हुनुपर्छ भनी यो नियमले सिकाउँछ ।
अतः दशराज धर्मको अनुशरण शासकको व्यक्तित्व विकासका लागि आवश्यक छ । शक्ति र सत्ताका लागि जे–सुकै गर्नसक्ने राज्य सञ्चालकलाई दशराज धर्मले उदार हुने, स्वार्थबाट बच्ने, उच्च नैतिक चरित्र कायम गर्ने, प्रजाका लागि आराम त्याग गर्न सक्ने, इमान्दार रहने, हिंसाबाट पर रहने, धैर्य र सद्भाव राख्ने गुणहरूको विकास गर्छ । यी गुण भएको शासकले राज्य सञ्चालन गरेमा सुशासन, लोककल्याणकारी राज्य र विकासन्मुख राष्ट्र सम्भव छ । “तसर्थ, वर्तमान समयमा पनि दशराज धर्मका सिद्धान्तलाई शासन, प्रशासन र सार्वजनिक नेतृत्वमा व्यवहारिक रूपमा लागू गर्न सके सुशासन, न्याय र लोककल्याणकारी राज्य निर्माणमा महत्पूर्ण योगदान पुग्न सक्छ ।
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा बि.ए.एलएल..बि. दोस्रो सेमेष्टरमा अध्ययनरत छात्रा हुन् ।)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij