२०८३, आषाढ २० गते

Jul 04 2026 | २०८३, आषाढ २० गते

सामूदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

शनिवार , आषाढ २०, २०८३

  • 307
    Shares
  • 307
    Shares
  • भैरहवा, २० असार । सामूदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्दै रूपन्देही क्षेत्र नम्बर ३ (१) अन्तर्गतका १८ जना विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका १८ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले विद्यार्थीको सफलतामा सबैभन्दा ठूलो योगदान उनीहरूको आफ्नै मेहनत, अनुशासन र तयारी हुने बताउनुभयो । उहाँले सफलतामा ९९ प्रतिशत भूमिका विद्यार्थीको परिश्रमको रहने उल्लेख गर्दै सरकारले गुणस्तरीय शिक्षाका लागि आवश्यक वातावरण निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री पाण्डेयले सीमित स्रोतसाधनका बाबजुद सामूदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा हासिल गरिरहेको भन्दै शिक्षक, प्रधानाध्यापक र विद्यालय कर्मचारीहरूको योगदानको प्रशंसा गर्नुभयो । उनले हालको ल्यापटप वितरण कार्यक्रमलाई आगामी दिनमा शिक्षा, खेलकुद, सीप विकास तथा सचेतनामूलक कार्यक्रमसँग जोडेर थप प्रभावकारी बनाइने बताउनुभयो ।

    त्यस्तै सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख हरि बहादुर विष्टले प्रत्यक्ष प्रोत्साहनका यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र थप मेहनत गर्ने प्रेरणा प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो ।

    सम्मानित विद्यार्थी पूजा विश्वकर्माले प्राप्त ल्यापटपलाई अध्ययन, अनुसन्धान र सिकाइलाई प्रभावकारी बनाउने माध्यमका रूपमा उपयोग गर्ने बताउनुभयो । 

    कार्यक्रममा श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक रूपकुमार रायमाझीले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा थप उत्प्रेरणा जगाउने विश्वास व्यक्त गर्नुभयो । शिक्षा तालिम केन्द्रका प्रमुख हिमलाल खनालले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । 

    ed74fee4-79e2-4055-8540-96449cbf8d35.jpg

    सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका लेखा अधिकृत टोल प्रसाद पोख्रेलको स्वागत तथा प्रेरणा नेपालीकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।