२०८३, आषाढ १९ गते

Jul 03 2026 | २०८३, आषाढ १९ गते

६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित

शुक्रवार , आषाढ १९, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • काठमाडौँ, १९ असार । विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना शुरु गरेका छन् । 

    सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीवारदेखि ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन् ।

    काउन्सिलका सूचना अधिकारी रामशरण बोहराकाअनुसार कर्मचारीहरूले लामो समयदेखि व्यवस्थापनसमक्ष भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए ।

    बोर्ड सदस्यहरूको कार्यकाल समाप्त भई बोर्ड रिक्त रहेको अवस्थामा कर्मचारीहरूको जायज मागलाई बेवास्ता गरिएको उहाँको गुनासो छ । कर्मचारीहरूले बिहीवारबाट काउन्सिलको कामकाज रोकेर धर्ना दिइरहेका छन् ।

    भत्ता पाउने ठोस सुनिश्चितता नभएसम्म आन्दोलन र कामकाज बहिष्कारको कार्यक्रम निरन्तर जारी रहने सूचना अधिकारी बोहराको चेतावनी छ । 

    सूचना अधिकारी बोहराले भन्नुभयो, ‘काउन्सिल सचिवालयका स्थायी कर्मचारीहरूले माघ महिनादेखि सरकारको अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता हालसम्म पनि पाएका छैनौँ । यस विषयमा हामीले पटकपटक व्यवस्थापनसँग अनुरोध गर्दै आएका छौँ ।

    बोर्ड रहेको अवस्थादेखि नै हामीले महँगी भत्ता रोकिएको विषय उठाउँदै आएका थियौँ । तर हाल बोर्डसमेत नभएको अवस्था छ र हाम्रो माग अझै सम्बोधन भएको छैन ।

    यसै कारण आज सबै स्थायी कर्मचारी साथीहरू दबाब सिर्जना गर्ने उद्देश्यले हिजोदेखि काउन्सिल सचिवालयको बाहिरी प्राङ्गणमा बसेका छौँ । यो हाम्रो शान्तिपूर्ण दबाबमूलक कार्यक्रम हो, कुनै उग्र आन्दोलन होइन ।

    असार महिनाको अन्तिमतिर आइपुगेका छौँ । आज असार १९ गते भइसक्यो । ६ महिनादेखि पाउनुपर्ने महँगी भत्ता नपाएको कारण हामीले व्यवस्थापनसँग उक्त भत्ता उपलब्ध गराउन आग्रह गर्दै दबाब सिर्जना गरिरहेका छौँ ।

    हिजोदेखि हामी पेनडाउन गरेर काम रोकेका छौँ । हाल हाम्रो सम्पूर्ण काम ठप्प छ । आज पनि हामी कुनै काम गर्दैनौँ । जबसम्म महँगी भत्ता उपलब्ध गराइने स्पष्ट आश्वासन प्राप्त हुँदैन, तबसम्म हामी यहीँ निरन्तर बसिरहनेछौँ ।’

    सूचना अधिकारी बोहराले विरोध कार्यक्रम अधिकार प्राप्तिका लागि गरिएको मर्यादित दबाबमूलक रहेको उहाँले बताउनु भयो ।