शुक्रवार , आषाढ १९, २०८३
काठमाडौँ, १९ असार । युक्रेनको राजधानी किभमा बिहीवार भएको रुसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।
किभ नगर सैन्य प्रशासनका प्रमुख टिमुर ताकाचेन्कोका अनुसार आक्रमणपछि उद्धार र खोजी कार्य अझै जारी छ । ताकाचेन्कोले टेलिग्राममार्फत जानकारी दिएअनुसार स्थानीय समय अनुसार बिहीबार राति ९ बजेसम्म कम्तीमा आठ जना अझै बेपत्ता रहेका छन् ।
किभका मेयर भिटाली क्लिट्स्कोले यस आक्रमणलाई राजधानीमाथि भएको अहिलेसम्मकै सबैभन्दा भीषण हमलाको रूपमा वर्णन गर्नुभएको छ ।
उहाँकाअनुसार रुसले यसपटक क्रुज र ब्यालेस्टिक मिसाइलका साथै ड्रोनहरूको समेत प्रयोग गरेको थियो । मेयर क्लिट्स्कोले आक्रमणमा ८६ जना घाइते भएको पुष्टि गर्नुभयो ।
शहरका सबै जिल्लाहरूमा क्षति पुगेको बताइएको छ । सबैभन्दा बढी क्षति डार्निट्स्की जिल्लामा भएको र त्यहाँ एउटा आवासीय भवनको केही हिस्सा भत्किएको मेयरले जानकारी दिनुभयो ।
युक्रेनी वायुसेनाका अनुसार रुसले रातभरको आक्रमणमा कुल ४९६ वटा ड्रोन र ७४ वटा मिसाइल प्रहार गरेको थियो, जसको मुख्य निसानामा राजधानी किभ रहेको थियो । युक्रेनी वायु रक्षा बलले ४७६ वटा ड्रोन र ४८ वटा मिसाइललाई बीचैमा निष्क्रिय पारेको दाबी गरेको छ ।
यता रुसी रक्षा मन्त्रालयले भने किभ र वरपरका क्षेत्रमा रहेका सैन्य-औद्योगिक प्रतिष्ठानहरू तथा इन्धन र ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी प्रतिशोधात्मक कारबाही गरिएको बताएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij