शुक्रवार , आषाढ १९, २०८३
काठमाडौँ, १९ असार । सिरियाको राजधानी दमस्कसको मध्य भागमा रहेको एक क्याफेमा बिहीवार भएको शक्तिशाली विष्फोटमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
सिरियाली आन्तरिक सुरक्षा अधिकारीहरूका अनुसार उक्त घटनामा अन्य २० जना घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीवार दिउँसो करिव ३ बजे हिज्जाज क्षेत्रको अल–नसर सडकमा रहेको एक क्याफेमा उक्त विष्फोट भएको थियो ।
सो स्थान न्याय दरबार (जस्टिस प्यालेस) बाट करिव ७० मिटर पश्चिममा पर्दछ ।अधिकारीहरूले दिएको जानकारीअनुसार विष्फोटमा करिब १ किलोग्राम वजन भएको र धातुका टुक्राहरू भरिएको ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ (आईईडी) प्रयोग गरिएको थियो ।
विष्फोट लगत्तै सुरक्षा बल र आपत्कालीन टोलीहरू घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेका थिए ।सिरियाली सरकारी समाचार एजेन्सी सानाले उद्धार अधिकारीहरूलाई उद्धृत गर्दै सबै हताहतहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको जनाएको छ ।
सुरक्षा निकायले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान शुरु गरेको छ ।हालसम्म कुनै पनि समूहले यस विष्फोटको जिम्मेवारी लिएको छैन । सुरक्षा अधिकारीहरूले विष्फोटको परिस्थिति र संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्य भइरहेको बताएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij