२०८३, आषाढ १९ गते

Jul 03 2026 | २०८३, आषाढ १९ गते

कङ्गोमा इबोलाको प्रकोप भयावह बन्दै

शुक्रवार , आषाढ १९, २०८३

  • 271
    Shares
  • 271
    Shares
  • काठमाडौँ, १९ असार । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का महानिर्देशक जीन कसेयाले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा जारी इबोला प्रकोप अझै पनि अत्यन्त गम्भीर अवस्थामा रहेको चेतावनी दिनुभएको छ ।

    कङ्गोमा हालसम्म इबोलाका कारण ४०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने सम्भावित उपचारको मूल्याङ्कनका लागि क्लिनिकल ट्रायल (नैदानिक परीक्षण) समेत शुरु गरिएको छ ।

    कङ्गोका राष्ट्रपति फेलिक्स सुसेकेदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कङ्गोको राष्ट्रिय जैविक चिकित्सा अनुसन्धान संस्थानको भ्रमण गर्ने क्रममा महानिर्देशक कसेयाले उक्त कुरा बताउनुभएको हो ।

    कसेयाकाअनुसार विगतका इबोला प्रकोप र पश्चिम अफ्रिकी इबोला महामारीको तुलनामा वर्तमान प्रकोपमा सङ्क्रमण र मृत्युदर दुवै निकै तिब्र गतिमा बढिरहेको छ । कङ्गो सरकारले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार जुन ३० सम्ममा इबोलाका १ हजार ४०६ पुष्टि भएका सङ्क्रमित फेला परेका छन् भने ४३८ जनाको मृत्यु भइसकेको छ । 

    प्रकोप अझै केही हदसम्म फैलिरहेको भए तापनि कङ्गो सरकारले सङ्क्रमणको चक्र तोड्न र यसलाई अन्त्य गर्न सही कदमहरू चालिरहेको कसेयाले उल्लेख गर्नुभयो । यस्तै, राष्ट्रपति सुसेकेदीले यस महामारी विरुद्ध क्षेत्रीय स्तरको सामूहिक प्रतिक्रियाको आवश्यकतामा जोड दिनुभएको छ । 

    यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बुन्डिबुग्यो भाइरसका कारण लाग्ने इबोला रोगको उपचारका लागि क्लिनिकल ट्रायल शुरु भएको जानकारी दिएको छ । यस परीक्षण अन्तर्गत मोनोक्लोनल एन्टिबडी र एन्टिभाइरल औषधि रेमडेसिभिरको एकल तथा संयुक्त प्रयोगको प्रभावकारिता परीक्षण गरिने डब्लुएचओले जनाएको छ ।

    महानिर्देशक कसेयाले कङ्गोले हाल इबोलाको मात्र नभई अन्य जनस्वास्थ्य सङ्कटको पनि सामना गरिरहेको बताउनु भयो । उहाँकाअनुसार इबोला प्रभावित क्षेत्रहरूमा नै हैजा र दादुराका सङ्क्रमण र मृत्युका घटनाहरू पनि उल्लेख्य रूपमा बढिरहेका छन् ।