२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

सशस्त्र प्रहरीद्वारा जनसमुदायलाई विपद् उद्धार तथा समन्वय तालिम

बिहिवार , आषाढ १८, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • पश्चिम नवलपरासी, १८ असार ।  सशस्त्र प्रहरी बल नेपालले जिल्लाका विभिन्न स्थानीय तहहरूसँग मिलेर सम्भावित प्राकृतिक विपद्को जोखिम आकलन गर्दै विपद् उद्धार तथा समन्वय तालिमलाई तीव्र पारेको छ । पश्चिम नवलपरासी जिल्लामा विभिन्न पालिकाहरूसँग आवश्यक समन्वय गरी सशस्त्र प्रहरीले यस्ता प्रभावकारी कार्यमूलक तालिमहरू सञ्चालन गर्दै आएको    हो ।

    जिल्लाका बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेका क्षेत्रहरूलाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल नं। २६ गुल्म हेडक्वार्टर, बेलासपुरले स्थानीय बासिन्दाहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराउँदै आएको छ । विपद् आइलाग्दा बाह्य उद्धार टोली आइपुग्नुपूर्व स्थानीय समुदाय नै पहिलो उत्तरदायी हुने भएकाले समुदायलाई नै प्राविधिक रूपमा दक्ष बनाउन यो रणनीति अपनाइएको हो ।

    सशस्त्र प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीका अनुसार सशस्त्र प्रहरीले विभिन्न स्थानीय तहहरूसँग मिलेर सम्भावित विपद्को वस्तुनिष्ठ आकलन गरी यस्ता विपद् उद्धार तथा समन्वय तालिमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। जिल्लाभरिका विभिन्न पालिकाहरूसँग समन्वय गरेर विपद्को उच्च जोखिम रहेका क्षेत्रहरू पहिचान गरी स्थानीयलाई नै दक्ष बनाउने गुल्मको योजना रहेको उहाँले बताउनुभयो।

    तालिममा दुर्घटना वा विपद्मा परेका घाइतेहरूलाई अस्पताल पुर्‍याउनुअघि गरिने आपत्कालीन उपचार विधि, विभिन्न खाले प्राकृतिक तथा भवितव्य विपद्हरूबाट सुरक्षित रूपमा नागरिकहरूको उद्धार गर्ने प्रविधि, विपद्को समयमा हुन सक्ने जनधनको क्षतिलाई कसरी कम  गर्ने भन्ने व्यावहारिक उपायहरू, बाढी तथा डुबानका बेला अपनाइने जीवन रक्षाका उपाय र विभिन्न सरोकारवाला निकायहरूसँग गरिने प्रभावकारी समन्वयका बारेमा व्यावहारिक र सैद्धान्तिक अभ्यास गराइन्छ । 

    विपद्को समयमा हुन सक्ने सम्भावित घटनाहरूमा कसरी सुरक्षित र द्रुत रूपमा उद्धार कार्य सञ्चालन गर्ने भन्ने मुख्य उद्देश्यका साथ जोखिमयुक्त स्थानहरूको छनोट गरी विशेष अभियान चलाइएको छ ।यसै अभियानअन्तर्गत बेलासपुरस्थित २६ नम्बर गुल्म हेडक्वार्टरको आयोजना तथा रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, र सरावल गाउँपालिकालगायतका स्थानीय तहहरूको आर्थिक सहयोग एवं समन्वयमा सञ्चालित १८ दिने स्थानीय विपद् उद्धार तथा समन्वय तालिम  भएको छ।

    विपद् व्यवस्थापनमा स्थानीय तह र सुरक्षा निकायबीचको यो सहकार्य निकै फलदायी देखिएको छ। तालिम समापनका अवसरमा सहयोगी पालिकाहरूले आगामी दिनमा आउने विपद्जन्य समयमा यी तालिम प्राप्त स्थानीय नागरिकहरूको भूमिका थप प्रभावकारी, द्रुत र सहयोगी हुने विश्वास व्यक्त गरेका छन्।

    सशस्त्र प्रहरीले आगामी दिनमा पनि जिल्लाका अन्य जोखिमयुक्त पालिकाहरूसँगको समन्वयमा यस्ता विपद् पूर्वतयारी तथा क्षमता अभिवृद्धि भूमिकाहरूलाई निरन्तरता दिने जनाएको छ।