२०८३, आषाढ ६ गते

Jun 20 2026 | २०८३, आषाढ ६ गते

चेतनारायण बेलबासे : सह–चालक, चालक हुँदै सञ्चालक र बस मालिकहरुका नेतासम्म

शनिवार , आषाढ ६, २०८३

  • 238
    Shares
  • 238
    Shares
  • बुटवल, ५ असार । वि.सं. २०४७/०४८ सालतिर रुपन्देहीको बुटवलदेखि दाङ चल्ने यात्रुबाहक बसमा सह–चालक बनेर यातायात क्षेत्रमा प्रवेश गरेको कलिलो युवा आज २४ वटा बसको मालिक बन्न सफल भएका छन् । यो यात्रा सजिलो थिएन । तर, त्यो कलियो युवाको बलियो आत्मविश्वासले सह–चालकबाट चालक हुँदै बस मालिक र नेपालकै सबैभन्दा ठूलो यातायात व्यवसायीहरुको संस्था पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को सञ्चालक बनायो । त्यो बलियो आत्मविश्वासले सञ्चालकमध्येको पनि महत्वपूर्ण जिम्मेवारी क्यू प्रमुख बनायो ।

    संघर्ष, ईमानदारिता, जिम्मेबारी र कर्तव्यलाई कर्मका रुपमा अंगिकार गर्नुभएका मेहनत र अनुशासनलाई मुल मन्त्र बनाएर यो उचाई चुम्न सफल भएका व्यक्ति हुनुहुन्छ गोली नारान अर्थात चेतनारायण बेलबासे । करिब २५ सय यात्रुबाहक बसहरु रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा क्यू प्रमुखको जिम्मेवारीमा रहनुभएका गोली नारान अर्थात चेतनारायण दैनिक ११ सयदेखि १२ सयवटा बसको रुट क्यू सञ्चालन गर्नुहुन्छ । यो अत्यन्तै महत्वपूर्ण जिम्मेवारी रहेको तर, आफू यो काममा सन्तुष्ट रहेको गोली नारायणको भनाइ छ । 

    IMG_6403.JPG

    गोली नारान, पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म, यातायात क्षेत्रमा यो नाम नौलो हैन । समयको महत्वलाई बुझेर हिंडने, आवश्यकता अनुसार बस छिटो चलाउने तर, यात्रुहरुको विश्वास जितेर सुरक्षित यात्रा गराउने गोली नारानका विशेषता हुन् । साढे ३ दशकभन्दा लामो समय बसमा सह–चालक, चालक, मालिक र मालिकहरुका पनि नेता बनेर बिताउनुभएका गोली नारान अर्थात चेतनारायण बेलबासे सार्वजनिक यातायात क्षेत्रमा अथक संघर्ष र व्यवसायिक सफलताको अनुकरणीय कथाका पात्र हुनुका साथै प्रेरणाका श्रोत समेत बन्नुभएको छ ।

    गोली चलाए जस्तै तीव्र गतिमा बस हाँक्ने तर अनुशासित ढंगले यात्रुहरुलाई ढुक्कसँग सुरक्षित यात्रा गराउने चालक भनेर चिनिने गोली नारायणका अनुसार पढेर मात्रै होइन परेर पनि धेरै कुरा सिक्न सकिन्छ । आई.ए.सम्म अध्ययन गर्नुभएका गोली नारायणको भनाइ छ–‘केही कुरा पढेर भन्दा पनि भोगाइले सिकाउँछ ।’ जीवनको लामो समय मेहनत र संघर्षमा बिताए पनि जीवनमा पछि फर्केर हेर्न नपरेको उहाँ बताउनुहुन्छ । साथीभाइबीच अलि कडा मिजासको तर, इमान्दार र विश्वासिलो भनेर परिचित गोली नारायण भन्नुहन्छ–‘संघर्ष र मेहनतले मानिसलाई सधै शिखरमा पुग्ने जोश जाँगर उत्पन्न गराइरहन्छ ।’ साथीभाइ र व्यवसाय दुवैले साथ दिएको उहाँको भनाइ छ । 

    1.JPG

    लामो समयसम्म तीव्र गतिमा बस चलाए पनि, अनुशासित र सुरक्षित यात्रा गराई यात्रुहरुलाई दुर्घटना नगराइकन गन्तव्यमा पुर्याउन सफल चालक, असल चालक भनेर उहाँ चिनिनुहुन्छ । मेहनत र संघर्षले खारिएका यातायात क्षेत्रका चम्किलो तारा नै बन्नुभएको छ । सडक अनुशासनलाई बढी ध्यान दिएर सवारी चलाएमा दुर्घटना न्यूनीकरण हुने कुरामा उहाँ विश्वास राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ–‘मुख्य कुरा जिम्मेवारी हो, दोस्रो अनुशासन, तेस्रो नैतिकता यति भएपछि सुरक्षित यात्राको ग्यारेण्टी हुन्छ ।”

    १६-१७ वर्षको कलिलो ठिटो, जाउ जाउ गुरुजी भन्दै बसको ढोका पिट्ने केटो अहिले जीवनका ५३ औं बसन्त पार गर्दै हुनुहुन्छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका ११ जना सञ्चालक मध्येका एक हुनुहुन्छ । तत्कालिन बस व्यवसायी समिति हुँदा ३ कार्यकाल बेलहिया–पोखरा रुट प्रमुख, १ कार्यकाल सह–सचिव र योसँगै दुई कार्यकाल निर्वाचित सञ्चालक भएर काम गरेको अनुभव उहाँसँग छ । उहाँसँग पहिले २४ वटासम्म आफ्नै नाममा गाडी थिए अहिले घटाएर १८ वटा बनाउनुभएको छ ।

    2.JPG

    आफूलाई यहाँसम्म पुर्याउनमा बन्जाडे परिवारको पनि ठूलो हात रहेको पनि उहाँ बताउनुहुन्छ । उहाँ बञ्जाडेका जेठा छोरा अर्जुनका स्कूले सहपाठी पनि हुनुहुन्थ्यो । उतिबेला यात्रु लिएर हिंड्दा आममानिसले चालकलाई गर्ने सम्मान देख्दा आफूलाई पनि ड्राइभर बन्ने रुची उहाँमा जाग्यो । त्यसपछि उहाँले बञ्जाडे परिवासँगको संगत बढाएको बताउनुहुन्छ । ‘पहिलोपटक २०४८ सालमा लु १ ख ७२५ र लु १ ख ७९९ नम्बरका बुटवल–दाङ चल्ने गाडीमा हेल्परको रुपमा काम गर्न थालेको सम्झना अझै ताजै छ । बुटवलका पुराना यातायात व्यवसायी तुल्सीराम बन्जाडेको सहयोगले लु १ ख २२७२ नम्बरको यात्रुवाहक बसमा सहचालकका रुपमा प्रवेश गरेको थिएँ, ’उहाँले भन्नुभयो ।

    केही वर्ष सह–चालक बनेपछि उहाँ क्रमशः चालक हुनुभयो । वि.सं. २०५२ सालदेखि आफ्ना काका लक्ष्मण बेल्वासेसँग मिलेर एउटा गाडी किन्नुभयो । यातायात क्षेत्रमा प्रवेश गरेको ४–५ वर्षपछि आफै मालिक र आफै चालक भएर सडकमा बस गुडाउन थाल्नुभयो । पहिलोपटक स्वरोजगार चालक भएर बस हाँक्दाको अनुभुति सम्झिदा अहिले पनि गर्वले छाती ढुक्क फुल्ने गरेको उहाँ बताउनुहुन्छ ।

    युवा जोश जाँगरले भरिएका उहाँ चालकको जिम्मेवारीसहित ‘स्टेरिङ’ समाउँदा उहाँको गाडीको ‘स्पीड’ सधैँ तीव्र हुन्थ्यो । सबैलाई उछिनेर छिटो गन्तव्यमा पुर्याउने उहाँको गाडीको विशेषता बनेको थियो । त्यो क्षमताले गाडी कुदाउँदा एकदिन बुटवलका धर्म खड्काले ‘कस्तो गोली चलाए जस्तै गरी बस चलाएको’ भन्नुभयो । त्यसपछि उहाँलाई धर्मले मात्र नभइ क्रमशः सबैले चेत नारायणको सट्टा गोली नारायण भन्न थाले । ‘क्रमशः पछि बोलाउने नाम नै गोली नारान भयो ।’ -उहाँ स्मरण गर्नुहुन्छ ।

     

    चेतनारायणले सुरूमा पोखरा–स्याङ्जा, वालिङ–बुटवल रूटमा गाडी चलाउन थाल्नुभयो । ‘त्यो बेलामा पुराना गाडीमा मिटरले काम गर्दैनथे,’ उहाँ भन्नुहुन्छ–‘मैले पहाडको बाटोमा बिना मिटर ७०–८० किलोमिटर प्रतिघण्टामा गाडी हाक्थें । त्यो बेलामा छतमा पनि यात्रुहरू प्रशस्त हुन्थे ।’ त्यही बेलामा तीव्र गतिमा गाडी चलाउने भएर आफूलाई गोली नारायण उपनाम दिइएको चेतनारायणको भनाइ छ ।

    अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर–२ पटौतीमा जन्मिनुभएका चेतनारायणको परिवार वि.सं. २०३० को दशकमा बसाइँसराइँ गरी रुपन्देहीको सैनामैना नगरपालिका–१० मा झर्नुभएको थियो । करिब ३५ वर्षको सवारी क्षेत्रको अनुभवमा उहाँले गाडी त तीव्र गतिमा कुदाउनुभयो नै, आफ्नो जिन्दगीलाई पनि निरन्तर अघि बढाउनुभयो । कहिल्यै दुर्घटना नगराएको, समितिमा कहिल्यै उजुरी नपरेको कुरा पनि उहाँ गर्वका साथ भन्नुहुन्छ । चेतनारायणले यातायात क्षेत्रमा काम गर्ने ४० जनाको लागि प्रत्यक्ष रोजगारी समेत दिनुभएको छ ।

    पछिल्लो समय व्यवसायीबीच स्तरीय सुविधासहितका गाडी भित्र्याउने प्रतिष्पर्धा चलिरहेको छ । नयाँ प्रविधि आएकाले मापदण्ड बनाएर आरामदायी र सुविधासहितका गाडी भित्राउने क्रममा आफूहरू रहेको उहाँको भनाइ छ । ‘दाङबाट काठमाडौं चल्ने गाडीमा ‘बसहोस्टेज’ राखेका गाडी चल्न थाले । पश्चिम नेपालले पनि त्यहीँ मापदण्डसहितका गाडीहरू भित्राउँदैछ,’। उहाँले भन्नुभयो– ‘यसले कठिन काम गर्न महिलाहरू पनि संक्षम छन् भन्ने सन्देश दिएको छ । यसलाई संस्थागत गर्न हामी पनि तयार छौं ।’

    चार दशक लामो यातायात क्षेत्रको अनुभव संगालिसक्दा पनि चेतनारायण असफल भइन्छ कि भन्ने कुरामा सधै चिन्तित हुनुहुन्छ । ’म यस क्षेत्रमा ढुक्क छैन । कारण यस क्षेत्रको स्थायीत्व कम रहेको छ । अहिले एउटा व्यवसायीले करोड रुपैयाँ खर्च गरेर गाडी भित्राइन्छ । अर्को वर्ष नयाँ प्रविधि आउँछ । त्यसको ब्याज र सावा उठाउन बाँकी हुँदै उ समस्यामा पर्छ,’उहाँले नयाँ व्यवसायीलाई सजग गराउँदै भन्नुभयो–‘समितिका ४ सय गाडी विस्थापित भइसकेका छन् । ती गाडी के गर्ने थाहा छैन । स्थायीत्व कम हुँदा व्यवसायीले चुनौतीका चाङ छिचोल्दै अघि बढ्नुपर्छ ।’

    दुर्घटना कम गर्न सडकको अवस्था सुधार गर्नुपर्नेमा चेतनारायण जोड दिनुहुन्छ । साथै सडक छेउमा ब्यारियर तथा सूचनामूलक बोर्ड राखिदिने, सडकको मार्किङलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने उहाँ आवश्यकता देख्नुहुन्छ । ‘सरकार सडकमात्र बनाउन केन्द्रित देखिन्छ । तर, सडकको सुरक्षाका विषयमा सरकारी निकायको चासो कम छ । पहाडी क्षेत्रका सडकमा अझ झनै जोखिम उच्च छ,’ उहाँले भन्नुभयो । सडक निर्माणमा अबौं खर्च गर्ने सरकारले अब सडक सुरक्षाको क्षेत्रमा पनि लगानी बनाउनुपर्ने उहाँको भनाइ छ ।

    उहाँ आमा, श्रीमती बिन्दु र तीन छोरासहित सालझण्डीमा बस्दै आउनुभएको छ । हाल दुई छोरा अष्ट्रेलियामा छन्, एक साथमै छन् । छोराहरूको सपना साकार गर्न उहाँ कहिल्यै पछि पर्नुभएको छ । “उनीहरूले जे गर्छन्, म त्यहीँ रमाउँछु,“ उहाँ भावुक बन्नुहुन्छ ।

    उहाँका बालसखा समेत रहेका व्यवसायी अर्जुन बञ्जाडे भन्नुहुन्छ-‘गोली नारायणले गाडी मात्रै होइन, व्यवहार पनि गोलीझै गर्छन् । छिटो, प्रभावकारी र सजिलो । समस्या आयो भने तुरुन्त समाधान निकाल्छन् । सितिमिती छैन, सक्दिन भन्ने उत्तर नै आउदैन । सहयोगी भावनाले गर्दा नै आज गोली यो स्थानमा छ ।’

    j.JPG

     

    गोली नारायणको कथा केवल व्यक्तिगत संघर्षको गाथा होइन, यो नेपालको ग्रामीण परिवेशबाट उठेर दृढ इच्छाशक्तिका साथ आफूलाई यातायात क्षेत्रको दरिलो खम्बाका रुपमा स्थापित गरेको एउटा प्रेरणादायी दस्तावेज पनि हो । जुन बाटो उहाँले छिचोल्नुभयो, त्यो बाटो धेरैका लागि मार्गदर्शक बन्न सक्छ-जहाँ गाडीले मात्रै होइन, मतिले पनि गति लिनुपर्छ भन्ने उहाँ नेपालमै केही गर्न सकिन्छ, मेहनत र अनुशासन चाहिन्छ सबै कुरा सम्भव छ भन्ने कुरामा विशेष जोड दिनुहुन्छ ।