२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

सीमाको असली रक्षक को ?

शनिवार , जेठ ३०, २०८३

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • सदैव मधेश–मधेशीलाई हेर्ने उत्तरी दृष्टिकोण फरक रहेको प्रसंग फरकफरक ढंगले नाखुशी–फरक मत–असन्तुष्टिको रुपमा विभिन्न राजनैतिक, सामाजिक  कोणबाट राखिदै आएको छ । काठमाडौं बसेर चर्को फेसबुके बोली सहित राष्ट्रवादीको संरक्षित बोलीर्लाइ आज फेरी तराई–मधेशमा रहेको नेपाली अखण्डतालाई आफ्नो ज्यान जोखिममा राख्दै आफ्नो घरेलु अस्त्र लाठी–डण्डा, हसिया–खुर्पा लिएर नेपाली भूमिको असल रखवाला ती भूमिपुत्र मधेशी समुदायले भारतीय ज्यादतीप्रति आफ्नो ज्यानको बाजी थापेर ती बैरी सुरक्षाकर्मीसँग लड्दै गर्दाको अवस्था निकै भावुक रह्यो । देशको सिमानाको जिम्मा सेना–सशस्त्रको भएता पनि स्वयं आफूहरुले लिनुपर्दा फेरि सदियांैदेखिको समस्याको समाधान कसले खोज्ने हो ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

    सदियौंदेखि नेपाल–भारत सीमा विवादले विभिन्न समस्याहरु उत्पन्न हुँदै आएका थिए र छन् पनि । सुगौली सन्धीबाटै उत्पन्न सीमा विवादको समाधान केवल एउटा नारा बनेर गएको छ । मधेशको उर्वरभूमि, प्राकृतिक सम्पदा, नदीनाला, एतिहासिक धरोहर, बाक्लो जनसंख्याबाट राज्यले केवल कर उठाउने, राजस्व बाँडफाँडमा असमान व्यवहार, विभिन्न घटना–परिघटना बनाएर मधेशी समुदाय (नागरिक) लाई भारतीय देख्ने, यहाँको भौगोलिक इतिहास जोड्ने हुलाकी राजमार्गको विस्तारलाई निरुत्साहित गर्ने, शिक्षा– स्वास्थ्य, मल, बीउबिजन, रोजगारका विषयमा कम प्राथमिकता दिनेले सदैव तराई–मधेश पछि पारिएको छ । आज भारतीय ज्यादतीको खुल्ला रुपमा विरोध गर्दै निडर बिना हतियारको सैनिक भएर आफ्नो पूर्वजको निशानी, आफ्नो देशको भूमिको रक्षा गरिरहँदा काठमाडौं सदैवझै मौन रहेर आफू र आफ्नो सत्ता टिकाउन व्यस्त देखाउने, कुनै ठोस पहल नगरेकाले सदैवझै उही मधेशी किसान, नरनारी, बालबालिका, वृद्धले हिजो गोली खाएर आफ्नो ज्यान गुमाएको इतिहासलाई बिर्सेर असल सीमा रक्षकको रुपमा रही आफ्नो असल राष्ट्रप्रेम र आफ्नो असल राष्ट्रियता प्रस्तुत गर्दै रहनेछन । विगतमा नेपालको भूमि बेचेर, आँखा चिम्लेर, सरकारको नेतृत्व गरेर बसेका काठमाडौंका असल राष्ट्रवादी/क्रान्तिकारी नेता भनाउनेहरु मौन हुँदा मधेशको सिमानामा यस्ता घटना दोहोरी रहनेछ । मधेशीले विदेशी सुरक्षाकर्मीबाट गोलि खाइरहनुपर्नेछ । समाधान कसले कहिले खोजीदिने हो भन्ने पर्खाइमा बसेका छन् यहाँका नागरिक । स्वाभिमानी मधेशी समुदाय सिमाको रक्षाका लागि कुनै कसर बाकी राखेका छैनन् ।

    अन्त्यमा, राष्ट्रियता, राष्ट्रवादको नारा काठमाडौंमा केन्द्रीत भए पनि असल राष्ट्रवाद, सीमाको असली रखवाला (रक्षक) आफ्नो ज्यानको बाजी थापेर  भारतीय सुरक्षाकर्मीसँग भिडेर देशलाई जोगाउने ‘मधेशी’ नागरिकप्रति हृदयदेखि नै सम्मान  छ । उनीहरु उच्च सम्मानका हकदार छ्न । उनीहरुको राष्ट्रियताको कुनै सन्देह हुनुहुँदैन ।