२०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गौतमबुद्ध विमानस्थलमा नियमित उडान विस्तार गर्न भारतीय पक्षसँग अनुरोध

बिहिवार , जेठ २१, २०८३

  • 262
    Shares
  • 262
    Shares
  • भैरहवा, २१ जेठ । नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले जोड दिएका छन् ।

    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, सीमावर्ती क्षेत्रको औद्योगिक विकास तथा लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा भारतको निजी क्षेत्रको सक्रिय सहभागीताको आवश्यकता औंल्याइएको छ ।
    बिहीवार भारतको गोरखपुरमा आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च–२०२६’ मा सहभागी वक्ताहरूले कृषि, पर्यटन, ऊर्जा, बैंकिङ, पूर्वाधार, औद्योगिक लगानी र सीमापार व्यापारलाई प्राथमिकतामा राखेर द्विपक्षीय सहकार्यलाई नयाँ उचाईमा पुर्याउनुपर्ने बताएका हुन् ।

    कार्यक्रममा नेपाली निजी क्षेत्रका प्रतिनिधिहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानको केन्द्रका रूपमा विकास गर्न भारतीय वायुसेवा कम्पनी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए । विमानस्थल सञ्चालनले लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार र लगानी प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरिएको थियो ।

    छलफलका क्रममा भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय उद्योगहरू आकर्षित गर्न नीतिगत तथा व्यवसायिक सहकार्य आवश्यक रहेको विषय पनि उठाइएको थियो । सहभागीहरूले सीमावर्ती क्षेत्रका औद्योगिक सम्भावनाको उपयोग गर्दै संयुक्त लगानी र उत्पादन विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

    लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा साँस्कृतिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न भारतीय पर्यटन व्यवसायी र निजी क्षेत्रले थप भूमिका खेल्नुपर्नेमा पनि वक्ताहरूले जोड दिएका थिए । बुद्ध जन्मस्थल लुम्बिनीलाई भारतीय बौद्ध पर्यटक तथा अन्तर्राष्ट्रिय पर्यटकको प्रमुख गन्तव्यका रूपमा प्रवद्र्धन गर्न संयुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको थियो ।

    कार्यक्रममा भारतस्थित नेपाली दूतावासका सह–सचिव तारानाथ अधिकारीले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन व्यापार, पर्यटन, लगानी र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले दुवै देशका निजी क्षेत्रबीचको साझेदारी आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उल्लेख गर्नुभयो ।

    भारतस्थित नेपाली दूतावासका इकोनोमिक काउन्सिलर रवीन्द्रजंग थापाले नेपालमा लगानी, उद्योग, पर्यटन र व्यापारका प्रशस्त सम्भावना रहेको बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिताले द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्ण प्रसाद शर्माले व्यापार सहजीकरण, लगानीमैत्री वातावरण निर्माण तथा सीमावर्ती क्षेत्रको आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल–भारत आर्थिक सम्बन्धलाई व्यवहारिक र परिणाममुखी बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

    भारत–नेपाल आर्थिक सहयोग मञ्चका सचिव तथा कार्यक्रमका अध्यक्ष कमलेश जैनले नेपाल–भारत आर्थिक सहकार्यका सम्भावना, व्यापारिक सम्बन्ध र निजी क्षेत्रको भूमिकाबारे जानकारी गराउँदै दुवै देशबीचको साझेदारीलाई थप परिणाममुखी बनाउनुपर्ने बताउनुभयो।

    भारतीय उद्योगपति अनुकुल भटनागरले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक विकाससँग जोड्नुपर्ने बताउनुभयो । उहाँले व्यापार, उद्योग, लगानी र वित्तीय सहकार्य विस्तारमार्फत दुवै देशले पारस्परिक लाभ लिन सक्ने धारणा व्यक्त गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सीमावर्ती क्षेत्रको आर्थिक विकास, पर्यटन र औद्योगिक सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन र उद्योग प्रवद्र्धनका लागि निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने बताउनुभयो। 

    कार्यक्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि, वाणिज्य तथा उद्योग संघका पदाधिकारी तथा विज्ञहरूबीच गोलमेच छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको थियो । 

    सहभागीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, लुम्बिनी पर्यटन प्रवद्र्धन, सेजमा लगानी विस्तार, व्यापारिक प्रक्रियाको सरलीकरण, पूर्वाधार विकास तथा निजी क्षेत्रबीचको सहकार्य अभिवृद्धिमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका थिए ।