बुधवार , जेठ २०, २०८३
भैरहवा, २० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमले बुधबार पार्टी परित्याग गर्नुभएको छ ।
२०६५ साल श्रावण १० गतेदेखि विद्यार्थी संगठनको केन्द्रीय सदस्यका रुपमा विद्यार्थी राजनीतिमा सक्रिय बमले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको सदस्य सचिव लगायत पार्टीमा रहँदा प्राप्त सम्पूर्ण जिम्मेवारीहरुबाट राजीनामा दिएको बताउनुभयो । उहाँले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिनुभयो ।
बमले प्रेस विज्ञप्ती जारी गर्दै उल्लेख गर्नुभएको छ–‘वर्तमान राष्ट्रिय परिस्थितिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्रहित, सुशासन, समृद्धि तथा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोड्न फरक ढंगको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने आवश्यकता महसुस गरेको छु । यही उद्देश्यका साथ नयाँ राजनीतिक यात्राको प्रारम्भ गर्न लागेको जानकारी सम्पूर्ण शुभेच्छुकहरुमा गराउन चाहन्छु ।’
पार्टीबाट अलग भए पनि राजसंस्था, सनातन हिन्दू राष्ट्र, संघीयता खारेज, सुुशासन र समृद्धिको पक्षमा आफ्नो अडान यथावत रहने उहाँले बताउनुभयो । ’यी राष्ट्रिय मुद्दाहरुलाई केन्द्रमा राखी नेपालको राष्ट्रिय राजनीतिमा निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछु, ’बमले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
