आइतवार , जेठ १७, २०८३
काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको २० खर्ब रुपैयाँको बजेटले मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने भन्ने बुझाइ गलत भएको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले नेपालको अर्थतन्त्र झन्डै ७० खर्ब रुपैयाँको रहेको उल्लेख गर्दै सरकारको ध्यान २० खर्बको बजेटभन्दा पनि समग्र अर्थतन्त्रलाई विस्तार गर्ने लक्ष्यमा केन्द्रित रहेको बताउनु भयो । उहाँकाअनुसार २० खर्ब खर्च गरेर ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ भन्ने भ्रमबाट देशलाई निकाल्न ध्यानमा सरकार रहेको बताउनु भयो ।
उहाँकाअनुसार सरकारले निर्माण गर्ने सडक, विद्युत्, शान्ति–सुरक्षा तथा न्याय प्रणालीजस्ता आधारभूत संरचना र सेवाले निजी क्षेत्रको आत्मविश्वास बढाउनेछ, त्यसबाट निजी लगानी आकर्षित भई आर्थिक गतिविधि विस्तार हुने अपेक्षा सरकारको छ ।
वाग्लेले आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई ७० खर्ब रुपैयाँबाट १०० खर्ब हुँदै १५० खर्ब रुपैयाँसम्म पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । सरकारको लगानी त्यस व्यापक आर्थिक विस्तारको सहायक माध्यम मात्र हुने उहाँले स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री वाग्लेले भन्नुभयो,‘हामी देशलाई यही भ्रमबाट पनि बाहिर निकाल्न चाहन्छौँ । सरकारको २० खर्ब रुपैयाँको बजेटले अर्थतन्त्रलाई सहजीकरण गर्ने हो, अर्थतन्त्र आफैँ भने झन्डै ७० खर्ब रुपैयाँको छ ।
बजेट निर्माणका क्रममा हामीले सधैँ २० खर्बको बजेटलाई होइन, ७० खर्बको समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेका थियौँ । यो बुझ्न आवश्यक छ कि २० खर्ब रुपैयाँले एक्लै अर्थतन्त्र चलाउने होइन, बरु ७० खर्बको अर्थतन्त्रलाई गतिशील बनाउने काम गर्ने हो । केही राजनीतिक नेताहरूमा बजेट खर्च नै आर्थिक वृद्धिको मुख्य आधार हो भन्ने भ्रम देखिएको छ, तर वास्तविकता त्यस्तो होइन ।
सरकारले गर्ने २० खर्ब रुपैयाँको खर्च अर्थतन्त्रमा आवश्यक प्रारम्भिक ऊर्जा वा सहजीकरण प्रदान गर्ने माध्यम मात्र हो । सरकारले बनाएको सडक, उत्पादन गरेको विद्युत्, सुनिश्चित गरेको शान्ति–सुरक्षा र प्रभावकारी न्याय प्रणालीका कारण निजी क्षेत्रको आत्मविश्वास बढ्छ । त्यसले निजी लगानीलाई आकर्षित गर्छ र निजी क्षेत्रको सक्रियता विस्तार हुन्छ ।’
उहाँले राज्य आफैँले सबै क्षेत्रमा लगानी र सञ्चालन गर्ने मोडलमा सरकार नरहेको उल्लेख गर्दै बलियो तथा प्रभावकारी नियामक राज्यको अवधारणालाई प्राथमिकता दिइएको बताउनु भयो । अर्थमन्त्री वाग्लेकाअनुसार आर्थिक रूपान्तरणको मुख्य आधार निजी क्षेत्रको लगानी र उद्यमशीलता हुनेछ भने सरकारले त्यसका लागि आवश्यक वातावरण निर्माण गर्ने भुमिका निर्वाह गर्नेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
