आइतवार , जेठ १७, २०८३
काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र साहले विभिन्न आन्दोलन, प्रदर्शन तथा दमनसँग सम्बन्धित घटनामा नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदनहरूको समग्र अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने बताउनुभएको छ ।
आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद अर्जुननरसिंह केसीले गर्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री साहले मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभई भदौ २३ र २४ का घटनासँग सम्बन्धित प्रतिवेदन तथा विभिन्न कालखण्डमा गठन गरिएका आयोगका प्रतिवेदनहरू पनि सरकारको अध्ययन गर्ने बताउनु भयो ।
उहाँकाअनुसार विभिन्न समयमा भएका आन्दोलन, ¥याली र दमनका घटनाबारे धेरै प्रतिवेदनहरू तयार भएका छन् । हालसम्म नेपाल सरकारलाई बुझाइएका सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा अध्ययन गरी त्यसका निष्कर्ष र सिफारिसका आधारमा आवश्यक कामकारबाही गरिने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर, भदौ २३ र २४ को मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलन भएका छन्, धेरै दमनहरु पनि भएका छन् । विभिन्न कालखण्डमा भएका आन्दोलनहरु, ¥यालीहरुमा भएको कुराहरुको प्रतिवेदन धेरै छन्, एउटा मात्रै प्रतिवेदन छैन, मानवअधिकार आयोगको र विभिन्न आयोगहरु पनि गठन भएका छन्, विभिन्न खालखण्डमा ।
आजसम्म भएका र नेपाल सरकारमा बुझाईएको जतिपनि आयोगका प्रतिवेदनहरु छन्, ती सबै प्रतिवेदनहरुलाई एकमुष्ठ रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारवाही त्यहीअनुसार गर्छ ।’
प्रधानमन्त्री साहसंग सांसद केसीले मानवअधिकार आयोगको प्रतिवेदन कार्यन्वयन ल्याउन माग गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
