२०८३, जेठ १७ गते

May 31 2026 | २०८३, जेठ १७ गते

युफ्रेटिस नदीमा भीषण बाढी

आइतवार , जेठ १७, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • काठमाडौँ, १७ जेठ । सिरियाको उत्तरी र पूर्वी क्षेत्रमा बग्ने युफ्रेटिस नदीमा पानीको सतह असामान्य रूपमा बढेपछि रक्का र देइर अल–जोर प्रान्तका तटीय क्षेत्रका बासिन्दाहरू विस्थापित भएका छन् ।

    विगत १५ वर्षयताकै उच्च जलस्तरका कारण आएको बाढीले सर्वसाधारणको आवास, कृषि भूमि र पूर्वाधारमा गम्भीर संकट उत्पन्न गराएको छ । नदीको माथिल्लो तटीय क्षेत्रबाट पानीको बहाव तीव्र रूपमा बढेपछि सिरियाली अधिकारीहरूले युफ्रेटिस बाँधका थप ढोकाहरू (स्पिलवे) खोल्ने निर्णय गरेका छन् ।

    अधिकारीहरूकाअनुसार नदीमा पानीको प्रवाह प्रतिसेकेन्ड २ हजार घनमिटरसम्म पुगेको छ, जुन सन् २००९ यताकै उच्च स्तर हो । युफ्रेटिस बाँध प्रतिष्ठानका महानिर्देशक हैथम बाकुरकाअनुसार टर्कीका अधिकारीहरूले ठूलो मात्रामा पानीको बहाव आउन सक्ने चेतावनी दिएपछि बाँध क्षेत्रमा पूर्ण संकटकाल घोषणा गरिएको थियो । 

    वर्षौँको गृहयुद्ध र कमजोर व्यवस्थापनका कारण नदीको प्राकृतिक बहाव क्षेत्रमा भएका अतिक्रमण, अनधिकृत निर्माण र अस्थायी पुलहरूले बाढीको जोखिमलाई थप बढाएको प्राविधिकहरूको भनाइ छ ।

    रक्का नजिकैको अल–सावाफी क्षेत्रमा सडक र कृषि फार्महरू पूर्ण रूपमा डुबानमा परेका छन् । स्थानीय बासिन्दा अब्दुल हाय अल–तायाहले सडकहरू जलमग्न भएको र आवतजावतका लागि डुङ्गाको मात्र सहारा रहेको बताउँदै धेरै परिवारहरू बालबालिका र गाईवस्तुसहित सुरक्षित स्थानमा सरेको जानकारी दिनुभयो । 

    त्यस्तै, रक्काको पुरानो पुल नजिकै बासिन्दाहरूले विद्युतीय ट्रान्सफर्मर र घरहरूलाई थप क्षति हुनबाट जोगाउन माटोको अस्थायी बाँध निर्माण गरिरहेका छन् । स्थानीयहरूले बाढीको दूषित पानीका कारण स्वास्थ्य समस्या र महामारी फैलन सक्ने त्राससमेत व्यक्त गरेका छन् । मुस्लिमहरूको महान् चाड इदुल अधा (बकरीद) को समयमा आएको यस प्राकृतिक विपत्तिले उत्सव मनाउनुपर्ने परिवारहरूलाई विस्थापित र चिन्तित बनाएको छ । 
    आपत्कालीन तथा विपद् व्यवस्थापन मन्त्री राएद अल–सालेहका अनुसार देइर अल–जोर प्रान्तमा मात्र करिब ५ हजार डुनम (१,२३५ एकड) कृषि जमिन डुबानमा परेको छ । यसबाट करिव २ हजार ४ सय परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि बाढीले ठूलो मात्रामा बालीनाली नष्ट गरेको छ । लामो समयदेखि युद्ध, विस्थापन र आर्थिक संकट झेल्दै आएका सिरियाली नागरिकका लागि युफ्रेटिस नदीको यो भीषण बाढी अर्को ठूलो चुनौती बनेको छ ।