आइतवार , जेठ १७, २०८३
काठमाडौँ, १७ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन तथा चाँदीमा लाग्ने भन्सार महशुल बढाएपछि नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आईतवार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम गरिएको छ । शुक्रवार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रवार सरकारले बजेटमार्फत सुनमा लाग्ने भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएको थियो ।
चाँदीको मूल्यमा पनि भन्सार वृद्धिको प्रभाव देखिएको छ । शुक्रवार प्रतितोला ५ हजार ४० रुपैयाँ रहेको चाँदी आईतवार ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रवार नै सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको थियो । भन्सार दर वृद्धिसँगै सुन तथा चाँदीको कारोबार थप महँगो बनेको व्यवसायीहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा आईतवार सुनको मूल्य प्रतिऔंस ४,५३९.७६ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔंस ७५.२९ अमेरिकी डलर रहेको छ । सुनचाँदीको आयात लागत बढेकाले आगामी दिनमा पनि घरेलु बजारमा मूल्य उच्च रहने सम्भावना छ ।
महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यले भन्सार वृद्धिका कारण सुनको मूल्य उल्लेख्य रूपमा बढेको बताउनु भयो । उहाँका अनुसार आइतबार विनिमय दर केही घटेकाले मूल्य अझ बढी नबढेको हो । आगामी दिनमा थप बढ्ने सम्भावना छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
