२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

सुशासन र शासकीय चरित्रमा सुधार नभई गणतन्त्रको सार्थकता रहँदैन : राष्ट्रपति पौडेल

शुक्रवार , जेठ १५, २०८३

  • 301
    Shares
  • 301
    Shares
  • काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताउनुभएको छ । 

    गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता गर्नुका साथै साझा राष्ट्र निर्माणको संकल्पका लागि अभिप्रेरित गरेको उल्लेख गर्नुभयो ।

    गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिको स्वामित्व प्रदान गरेको बताउँदै उहाँले यसलाई राष्ट्र निर्माणको महान् प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले केवल राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्नुभयो ।

    उहाँले राजनीतिक दल र नेतृत्वलाई अझ बढी सिर्जनशील, विनयशील र जनउत्तरदायी बन्न आह्वान समेत गर्नुभयो । मुलुकको समृद्धिका लागि सुशासन अनिवार्य सर्त रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले ढिलासुस्ती, अनियमितता र बेथिति अहिलेको मुख्य चुनौती रहेको औंल्याउनु भयो । राष्ट्रपति पौडेलले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक समृद्धि सुनिश्चित गर्नु आजको मुख्य कार्यभार रहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ । यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ । यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ। किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो ।

    राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन । हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । हामीले राजनीतिक पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नुहुन्न भन्ने म ठान्दछु ।

    अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्छ । हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्छ ।

    हाम्रा शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्छ। हामीले सुशासनको प्रत्याभूति दिनैपर्छ । जगजाहेर छ कि आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरू कोही होइन ढिलासुस्ती, अनियमितता र बेथिति भएको छ ।

    लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनै बेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ । जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्दैन त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन ।’

    प्रत्येक नागरिकको जीवनमा आशाको सञ्चार नभएसम्म रगत र पसिना बगाएर प्राप्त गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूर्ण नहुने उहाँको निष्कर्ष छक । शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील बनाउँदै सुशासनको प्रत्याभुति दिन सरकार र संवद्ध पक्षलाई उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।