२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

बैंककमा एसियाकै ठूलो खाद्य प्रदर्शनी शुरु

शुक्रवार , जेठ १५, २०८३

  • 334
    Shares
  • 334
    Shares
  • काठमाडौँ, १५ जेठ । एशियाकै अग्रणी खाद्य तथा पेय पदार्थ व्यापार मेला ‘थाइफेक्स–अनुगा एसिया २०२६’  थाइल्याण्डको राजधानी बैंककमा शुरु भएको छ । विश्वका १३० भन्दा बढी देश र क्षेत्रका खरिदकर्ताहरूलाई आकर्षित गर्दै शुरु भएको यस मेलामा बृहत् व्यापारिक अन्तरक्रिया भइरहेको छ ।

    हालसम्मकै ठूलो स्तरमा आयोजना गरिएको यस प्रदर्शनी १ लाख ४० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । प्रदर्शनीमा थाइल्याण्डसहित ५६ देशका ३ हजार ५ सय ९० कम्पनीहरूले ६ हजार ७ सय १० बुथहरूमार्फत आफ्ना उत्पादनहरू प्रदर्शन गरिरहेका छन् ।

    आयोजकले यस पाँच दिने मेलामा ९० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखेका छन् । यस वर्षको संस्करणमा विशेष गरी भर्खरै बजारमा आएका उत्पादन, उदाउँदा ब्रान्ड र मुख्य वितरण माध्यममा पुिननसकेका नवप्रवर्तनकारी खाद्य सामग्रीहरूलाई विशेष प्राथमिकता दिइएको छ ।

    यस मेलामार्फत १३० अर्ब भाट (करिव ३.९९ अर्ब अमेरिकी डलर) बराबरको व्यापारिक कारोबार हुने लक्ष्य राखिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चर्नविराकुलले खाद्य उद्योग थाइल्याण्डको प्रमुख शक्ति भएको उल्लेख गर्नुभयो । उहाँले थाइल्याण्ड अब परम्परागत ‘विश्वको भान्सा’ को पहिचानभन्दा माथि उठेर नवप्रवर्तन, स्वास्थ्य र दिगोपनामा आधारित ‘फ्युचर फुड हब’ बन्ने दिशामा अग्रसर रहेको बताउनु भयो । 

    प्रधानमन्त्री चर्नविराकुलका अनुसार थाइ सरकारले दीर्घकालीन र दिगो आर्थिक वृद्धिका लागि स्मार्ट कृषि, जैव प्रविधि (बायोटेक्नोलोजी), वैकल्पिक प्रोटिन र ‘बायो–सर्कुलर–ग्रीन’ (बीसीजी) इकोनोमी मोडललाई उच्च प्राथमिकतामा राखेको छ ।

    थाइल्याण्डको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन विभाग, थाइ चेम्बर अफ कमर्स र जर्मनीको ‘कोल्नमैसे’ द्वारा संयुक्त रूपमा आयोजित यस मेलामा नौवटा मुख्य क्षेत्रका उत्पादनहरू समावेश छन् । यसमा दैनिक उपभोग्य वस्तुदेखि भविष्यका खाद्य प्रविधि र दिगो खाद्य प्रणालीका नवीनतम प्रयोगहरू प्रदर्शनीमा राखिएका छन् ।

    शनिवारसम्म चल्ने यस प्रदर्शनीमा विशेष सेमिनार, अन्तक्र्रिया र उद्योगका पछिल्ला प्रवृत्तिहरूबारे जानकारी दिने विभिन्न गतिविधिहरू समेत सञ्चालन भइरहेका छन् । यी कार्यक्रमहरूले व्यवसायीहरूलाई उपभोक्ताको बदलिँदो आवश्यकता र उद्योगको भविष्यबारे स्पष्ट मार्गचित्र प्रदान गर्ने विश्वास लिइएको छ ।