२०८३, जेठ १४ गते

May 28 2026 | २०८३, जेठ १४ गते

बकर इद विश्वभर हर्षोल्लासका साथ मनाइँदै

बिहिवार , जेठ १४, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • काठमाडौँ, १४ जेठ । इस्लाम धर्मावलम्वीहरूको महान पर्व ‘इदुल जोहा’ अर्थात बकर इद विश्वभर हर्षोल्लासका साथ मनाइँदैछ । 

    यो पर्वलाई विशेष गरी त्याग, बलिदान र ईश्वरप्रतिको अगाध आस्थाको प्रतीकका रूपमा लिइन्छ । बकर इदको शुरुवात पैगम्बर हजरत इब्राहिम अलैहिस्सलामको समयदेखि भएको मानिन्छ ।

    बिहीवार जनकपुरधाम सहित देशभरका विभिन्न मस्जिदहरुमा प्रार्थना गर्नेहरुको भीड छ । धार्मिक मान्यताअनुसार अल्लाहले इब्राहिमको परीक्षा लिनका लागि उनलाई आफ्नो सबैभन्दा प्रिय वस्तु कुर्बानी (बलिदान) दिन सपनामार्फत आदेश दिएका थिए । अल्लाहको आदेश पालना गर्दै उनले शुरुमा विभिन्न जनावरहरू कुर्बानी गरे ।

    तथापि, पुनः आफ्नो सबैभन्दा प्रिय वस्तु त्याग गर्नुपर्ने ईश्वरीय सन्देश प्राप्त भएपछि उनी आफ्नै पुत्र इस्माइल अलैहिस्सलामलाई समेत अल्लाहको राहमा बलिदान दिन तयार भए ।

    आफ्नो पुत्रको कुर्बानी दिन तयार भई इब्राहिमले आँखामा पट्टी बाँधेर छुरी चलाउन लाग्दा, अल्लाहको चमत्कार स्वरूप त्यहाँ एउटा भेडा (दुम्मा) प्रकट भएको र पुत्रको सट्टा उक्त जनावरको कुर्बानी भएको विश्वास गरिन्छ । सोही ऐतिहासिक घटनाको सम्झनामा विगत १४ सय वर्षभन्दा अघिदेखि यो परम्परा निरन्तर चल्दै आएको हो ।

    बकर इदलाई सत्यको विजय, आत्मसंयम र समर्पणको सन्देश दिने पर्वका रूपमा लिइन्छ । यस दिन मुस्लिम समुदायका व्यक्तिहरू बिहानै स्नान गरी, शुद्ध वस्त्र धारण गरेर, आँखामा सुरमा र शरीरमा अत्तर लगाई मस्जिद वा इदगाहमा सामूहिक नमाज पढ्न जाने गर्दछन् । नमाज सम्पन्न भएपछि एक–अर्कालाई अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

    धार्मिक परम्परा अनुसार, नमाज पढेपछि सामथ्र्य हुनेहरूले स्वस्थ जनावरको कुर्बानी दिने गर्दछन् । यो कार्यलाई ‘फर्ज’ (अनिवार्य कर्तव्य) का रूपमा समेत हेरिन्छ । यो पर्वले आफ्नो धर्म र राष्ट्रप्रतिको आस्था प्रकट गर्दै समाजमा खुशीयाली र भ्रातृत्व फैलाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिन्छ । 

    विशेष गरी पूर्खादेखि चलिआएको यो परम्पराले मानिसमा त्यागको भावना जागृत गराउने र ईश्वरप्रति समर्पित हुन प्रेरित गर्ने धार्मिक अगुवाहरूको भनाइ छ ।