बुधवार , जेठ १३, २०८३
काठमाडौँ, १३ जेठ । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले आगामी आर्थिक वर्षको बजेटले मुलुकभरका नागरिकको भावना समेट्ने र ठूला पूर्वाधार निर्माणमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले स–साना आयोजनाभन्दा राष्ट्रिय आवश्यकताका ठूला आयोजनामा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभएको हो । सांसद कार्कीले सोलुखुम्बुमा रणनीतिक महत्वका तीनवटा सडक र तीनवटा पुल निर्माणका लागि सरकारलाई सिफारिस गरेको जानकारी दिनुभयो ।
पर्यटकीय क्षेत्र नाम्चेमा ४ सयदेखि ५ सय जना क्षमताको सभाहल र पर्यटक सूचना केन्द्र (टुरिस्ट इन्फर्मेसन सेन्टर) स्थापनाका लागि आफूले विशेष पहल गरेको उहाँको भनाइ छ । सोलुखुम्बुलाई विकासका दृष्टिले ‘पूर्वको कर्णाली’ को संज्ञा दिँदै उहाँले विश्वकै ध्यानाकर्षण हुने पर्यटकीय क्षेत्र भएर पनि यहाँ आधारभूत पूर्वाधारको अभाव रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सोलुखुम्बुलाई विश्वले नै हेर्ने गर्दछ, तर यहाँ अझै पनि टेलिफोन, विद्युत्, सडक र खानेपानीजस्ता आधारभुत सुविधाहरूको राम्रो व्यवस्था हुन सकेको छैन ।’
उहाँले यी समस्याहरू समाधानका लागि सरकारसमक्ष माग राखेको र यस पटकको बजेट विनियोजनमा कुनै पनि प्रकारको पक्षपात नहुनेमा आफू आशावादी रहेको बताउनु भयो । सरकारले आवश्यकता र प्राथमिकताका आधारमा सन्तुलित बजेट ल्याउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
