२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

स्व. गंगा देवी जि.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

मंगलवार , बैशाख २८, २०७८

बुटवल, २८ वैशाख । 
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सदस्य एवं रुपन्देही जिल्लाका सचिव नारायण बहादुर जि.सी. (निर्मल) को माता  स्व. गंगा देवी जि.सी.को सम्झनामा मंगलबार बुटवलमा श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रम गरिएको छ । माओवादी केन्द्र रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको सभामा सहभागि वक्ताहरुले समाज रुपान्तरणको राजनीतिक आन्दोलनमा स्व. जि.सी.को पनि योगदान रहेको बताए । उनीहरुको स्व. जि.सी.को सपना पुरा गर्ने जिम्मेवारी र दायित्व सबैको हुनुपर्ने बताए  । सामाजिक संस्कारहरुलाई समयानुकल परिवर्तन गरी व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य बामदेव क्षेत्रीले स्व. जि.सी.प्रति श्रद्धाञ्जली अर्पण गर्दै सबै उनी अग्रगामी पक्षधर, क्रान्तिकारीहरुको आमा भएको बताए ।  अर्का केन्द्रिय सदस्य हकिकुल्ला खाँले जातजाति, भाषाभाषी, विविध धर्म मान्नेहरुको आ-आफ्नो सामाजिक संस्कार रहेको बताउँदै त्यसलाई परिवर्तन र वैज्ञानिक आधारमा अवलम्वन गर्नुपर्ने बताए ।  

त्यसै गरी पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभा संसदीय दलका सचेतक तुलाराम घर्ती मगरले जिउँदो हँदासम्म आमा वुवाको आवश्यकता वोध नगर्ने मृत्युपछि लामो क्रिया गर्देमा उनीहरुप्रति सम्मान नठहरिने बताए ।

(माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य एवं प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री सुदर्शन बरालले अग्रजहरुले देखाएको बाटोमा हिड्ने दायित्व रहेको बताउँदै उहाँहरुको सपना पुरा गर्नुपर्ने बताए । जन्मपछि मृत्यु स्वभाविक र प्राकृतिक नियम भए पनि समाजलाई योगदान दिएकाहरुको योगदान अमर रहने बताउँदै उनले क्रान्तिकारी योद्धाहरु जम्माउने स्व. आमा गंगादेवी सबैको आमा भएको बताए । 

कार्यक्रममा स्व. जि.सी.को कनिष्ट सुपुत्र एवं पार्टीका जिल्ला कमिटी सचिव निर्मल जिसीले आमाको हौसला र साथले कम्युनिष्ट आन्दोलनमा लागेको बताउँदै मृत्यु संस्कारलाई परिमार्जन गरिएको बताए । उनी आमाको काजक्रिया बसेनन् । उनका दाजु मानवहादुर जि.सी. ७ दिनसम्म किरियामा बसेका थिए ।

कार्यक्रममा शहिद स्मृति प्रतिष्ठान रुपन्देहीका अध्यक्ष टंकमणि बञ्जाडे, प्रदेश कमिटी सदस्य सन्तोष रसाईली लगायतले स्व. गंगा देवीप्रति श्रद्धासुमन व्यक्त गर्दे समाज रुपान्तरणमा जिसीको योगदान रहेको बताए । प्युठानको दम्तीमा जन्म भइ कपिलवस्तु शिवराज नगरपालिका ९ शिवगढी स्थायी निवासी जि.सी.को ८२ वर्षको उमेरमा वैशाख २२ गते निधन भएको थियो ।