मंगलवार , जेठ १२, २०८३
काठमाडौं, १२ जेठ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभर बढ्दै गएको बाँदरको समस्याका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद राईले बाँदर आतंकका कारण जनता आफ्नो थातथलो छोड्न बाध्य भएको उल्लेख गर्नुभयो । सांसद राईले बाँदरको समस्यालाई लिएर संसदमा हुने गरेका ठट्टा र उपहासप्रति आपत्ति प्रकट गर्दै यसलाई जनताको पीडा र आक्रोशको रूपमा बुझ्न आग्रह गर्नुभयो ।
कृषकले दुःख गरेर हुर्काएका बालीनाली बाँदरले सखाप पार्दा ग्रामीण भेगका जनताको जीविकोपार्जनमा नै संकट आएको उहाँको तर्क थियो । उहाँले जनतालाई रुवाएर र आफ्नै भूमिमा बस्न नसक्ने अवस्था सिर्जना गरेर कुनैपनि प्रकारको ’आतंक’ लाई पाल्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले वैदेशिक रोजगारीमा रहेका युवाहरूले पठाएको विप्रेषण र उनीहरूका आमाबुबाले गाउँमा बाँदरसँग जुधेर गरेको संघर्षको समेत स्मरण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘बाँदर आज जनताको महत्वपूर्ण शत्रु भएको छ । कतिपयले यसलाई बचाउनुपर्छ भन्लान्, तर जनताको पीडा भने अकल्पनीय छ । यो विषयलाई हल्का रूपमा लिएर हाँसोमजाक गर्नु हुँदैन । जनताको आक्रोशलाई दबाउन खोजियो भने यसले उग्र रूप लिन सक्छ । बाँदर व्यवस्थापनका लागि के गर्ने हो ? मार्ने, व्यवस्थापन गर्ने वा अरू कुनै निकास निकाल्ने? यसबारे सरकारले गम्भीर भएर सोचोस् र सदनमा अविलम्ब छलफल होस् ।’
समस्या समाधानका लागि ठोस पहल हुनुपर्नेमा जोड दिँदै सांसद राईले विगतका अभ्यासहरूको उदाहरण समेत दिनुभयो । उहाँले कृषकलाई आफ्नो बालीनाली सुरक्षाका लागि कानूनी प्रक्रिया पु¥याएर हतियार उपलब्ध गराउने विषयमा समेत सदनमा छलफल हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले यो विषय कुनै दल वा विचारको मात्र नभई ‘भुइँ मान्छे’ हरूको साझा समस्या भएको उल्लेख गर्दै सरकारलाई यस विषयमा संवेदनशील हुन र तत्काल निकासको बाटो खोज्न माग गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
