२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

जसपामा देखिएको मतभिन्नता नै नयाँ सरकार गठनमा बाधक

मंगलवार , बैशाख २८, २०७८

बुटवल, २८ वैशाख ।
जनता समाजवादी पार्टीमा देखिएको मतभिन्नता नै नयाँ सरकार गठनका लागि बाधक देखिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल (जसपा) सम्मिलित गठबन्धन सरकारका लागि जसपामा केही समय यता देखिएको मत विभाजन नै बाधक बनेको हो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समर्थन र सहयोग गर्ने वा नगर्ने, नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रसंग गठबन्धन गर्ने वा नगर्ने विषयमा जसपाका नेतामा दुईमत हुँदा नयाँ सरकार गठनका लागि अन्यौलता सिर्जना भएको कांग्रेस र माओवादी नेताहरुको आरोप छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवपक्ष दुई भागमा विभाजन हुँदा नयाँ सरकार निर्माणका लागि सकस देखिएको हो । नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रलाई जसपाको साथ आवश्यक पर्छ तर, जसपाको ठाकुर पक्षले नयाँ सरकार गठन प्रकृयामा सहभागी नहुने बताएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले सत्ता गठबन्धनको नयाँ प्रयासमाथि आपत्ति जनाएपछि नयाँ सरकार गठनमा राजनीतिक समस्या देखा परेको छ । उता अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले बर्तमान ओली नेतृत्वका सरकारको बहिर्गमनका लागि तत्काल विपक्षी गठबन्धनसँग मिलेर सरकार बनाउने तयारी गर्नुपर्ने बताउदै आएको छ । 

जसपाका नेताहरु दुई धारमा बिभाजित भएका कारण नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी बाधक बनेको नेपाली कांग्रेसका नेता बालकृष्ण खांणको आरोप छ । खाणका अनुसार जसपाका नेताहरुको ढुलमुले चरित्र र दोधारे नितिका कारण केही दिन अझै राजनैतिक निकास निकाल्न सकस हुने देखिएको छ ।