सोमवार , जेठ ११, २०८३
पाल्पा, ११ जेठ । महिलाहरुका लागि नेतृत्व विकास तालिम सोमबार पाल्पाको तिनाउ गाउँपालिका–६ स्थित मस्याममा सम्पन्न भएको छ ।
तालिमको उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले महिलाहरुको आर्थिक सशक्तिकरण, मानवीय क्षमता विकास र नेतृत्व विकासका लागि पालिकाले यथेष्ट कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले तिनाउका महिलाहरुलाई अन्य ठाउँका महिलाका तुलनामा सशक्त बनाउन आफूहरु कटिबद्व रहेको बताउनुभयो । नेतृत्व विकास बिना व्यक्ति, समाज र देश परिवर्तन असम्भव भएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर ६ का वडाध्यक्ष टोमबहादुर पुनले परिवर्तन अरुबाट नभइ आफैबाट थाल्नुपर्ने बताउनुभयो । उहाँले नेतृत्व विकास आफैले गर्दै जाँदा उत्तम हुने बताउनुभयो । त्यसका लागि नेतृत्वसम्बन्धि आधारभूत सैद्वान्तिक र प्रयोगात्मक ज्ञानको आवश्यकता हुने उहाँले सुनाउनुभयो ।
तालिममा नेतृत्वको अर्थ, यसका आधारभूत तत्वहरु, प्रभावीय पक्षहरु, सकारात्मक नेतृत्वका विशेषता, गुण र महिलाहरुका साझा समस्या र चुनौती सम्बन्धमा सैद्वान्तिक तथा प्रयोगात्मक तरिकाले सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो ।
तालिम समापन कार्यक्रममा तिनाउ गाउँ कार्यपालिका सदस्य गंगा रानाले तालिम प्रभावकारी भएको र सहभागीहरुले प्रस्तुत गरेका समस्या एवम् चुनौतीहरुलाई सक्दो समाधान गर्नका लागि वडा र पालिकामा पहल गर्ने बताउनुभयो ।
त्यसै गरी सहभागीहरुकातर्फबाट शारदा श्रेष्ठ, कोपिला सुवेदी, चुना बुचा, मीना लम्तरी, नारायणी दर्जी, इन्दिरा विक, विद्यादेवी भण्डारीले नेतृत्व विकास तालिमबाट आफूहरुले सक्दो धेरै ज्ञान हासिल गर्न सकेको बताउनुभयो । उहाँहरुले आगामी दिनमा कृषिसम्बन्धि तालिम, सिलाईकटाईको एड्भान्स तालिम, बालविवाह र चेलीबेटी बेचविखनविरुद्वको अभियान सञ्चालनका लागि वडा र पालिकाले आर्थिक एवम् नैतिक साथ र समर्थन गर्नुपर्नेमा जोड दिनुभयो ।
महिला समन्वय समिति, तिनाउ वडा नम्बर ६ को संयोजन तथा व्यवस्थापन र तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सम्पन्न भएको समन्वय समितिकी अध्यक्ष दुर्गा भण्डारीले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
