२०८३, जेठ ७ गते

May 21 2026 | २०८३, जेठ ७ गते

पितृ बामनेतृत्व र नेपाली वामपन्थको पुनर्जन्म

बुधवार , जेठ ६, २०८३

  • 847
    Shares
  • 847
    Shares
  • पृष्ठभूमि: गौरवशाली इतिहास र वर्तमानको विचलन
    नेपाली राजनीतिको रङ्गमञ्चमा बामपन्थी आन्दोलनको स्थान विशिष्ट र शक्तिशाली छ। वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठले 'सामन्ती र साम्राज्यवादी' शोषणबाट नेपाली जनतालाई मुक्त गर्ने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टीको जग बसालेका थिए। यस आन्दोलनले त्यसयताका ७६ वर्षमा हलो क्रान्ति, झापा विद्रोह, जनआन्दोलन २०४६, दश वर्षे सशस्त्र जनयुद्ध र २०६२/६३ को ऐतिहासिक परिवर्तन, भारतीय नाकाबन्दी प्रतिरोधी राष्ट्रवादी अन्दोलन, बामपन्थीहरूको दुर्इतिहाइ निकटको सरकारजस्ताधेरै उतारचढाव देख्यो । यी सबै कालखण्डमा वामपन्थी शक्तिहरूले नेपाली समाजको चेतना बदल्ने काममाखेलेको भूमिका महत्वपूर्ण तथा मननयोग्य छ ।

    तर, आज सन् २०२६ को प्रारम्भमा राजनीतिको एक किनारामा उभिएर हेर्दा नेपाली बामपन्थको त्यो गौरवइतिहासमा सीमित भइरहेको यथार्थ अनुभूत हुन्छ । आजको  नेपालका बामपन्थनामधारी मूल धारका राजनीतिक दलहरूको चरित्र न त सर्वहारा पक्षीय रहेको, न उनीहरूमा मार्क्सवादी विचारको कुनै अवशेष बाँकी नै रहेको छ। वि.सं. २०७२ को संविधानले नेपाललाई "समाजवादउन्मुख" राज्य त घोषणा गर्‍यो तर, यो समाजवादको यात्रा अघि बढाउन बढी जिम्मेवार हुनुपर्ने बामपन्थी पार्टीहरू आफैँमा एक'कर्पोरेट हाउस' वा 'बिचैलिया तथा सामन्ती शासकको अपराधिक अखडा'का रूपमा सर्वाङ्ग भएका हुन पुगेका छन्।उनीहरूको क्रान्तिकारी भाषण र विलासी जीवनशैलीबीचको खाडल अब कहिल्यै पुरिन नसक्ने तथ्य प्रमाणित गरिरहनु जरूरी नै रहेन । यसको प्रभावस्वरूप नेपाली बामपन्थी आन्दोलनले राजनीतिमा आफ्नो नैतिक प्राधिकार नै गुमाउन पुगेको छ।

    पटक-पटकको फुट: विचार कि अहंकार?

    नेपालकोबामपन्थी आन्दोलनको सबैभन्दा ठूलो रोग 'विभाजन' हो। यिनीहरूबीच भएका विभाजनको इतिहास अध्ययन गर्ने हो भने एउटा रोचक निष्कर्ष निस्कन्छः—नेपालमा बामपन्थीहरू कहिल्यै पनि देश विकासको सिद्धान्त के हुने? वा  कसरी गर्ने ?, गरिबी कसरी निवारण गर्ने ? प्रस्थानको नीतिगत व्यवस्था के हुने ? शिक्षा नीति कस्तो हुने? बर्गीय विभेद सम्बोधनको ढाँचा के हुने? भन्ने जस्ता वैचारिक मुद्दाका कारण नभएर "म ठूलो कि तँ ठूलो?" भन्ने व्यक्तिगत इगो र सत्ता (पार्टी) को भागबण्डामा फुटेका वा जुटेका छन्।

    वि.सं. २०७४ को निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताले बामपन्थ विचारबाट प्रभावित नेपाली जनमानसमा जगाएको आशाका कारण प्राप्त झण्डै दुई-तिहाइको बहुमतयुक्त सरकारले देशमा स्थिरता र समृद्धिको लहर ल्याउने विश्वास गरिएको थियो। तर खड्कप्रसादले नैतिक स्वामित्व लिन अस्वीकार गरेको सत्ताको भागबण्डाको गोप्य कपाली तमसुक सतहमा देखिएपछि सिर्जित विवादले यो जनचाहनामा तुसारापात गरिदिएको थियो ।

    एमालेको ८औं महाधिवेशनमा प्रस्तुत भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूल ध्येय बनाएका यी दुई राजनीतिक दलको वैचारिक लक्ष्य समाजवाद भए तापनि अन्तर्यमा उनीहरूको उद्देश्य बालुवाटारको कुर्सी नै थियो भन्ने रहस्य खुल्दा बामपन्थ समर्थक अवाक् भएका थिए । यसपछि आजसम्मको नेपाली बामपन्थको क्रान्तिकारी यात्राको बक्ररेखा हेर्ने हो भनेनेपाली बामपन्थी नेतृत्वका लागि पार्टी र विचार केवल सत्तामा पुग्ने भर्‍याङ मात्र हुन्भन्ने प्रष्ट देखिएको छ।

    बामपन्थी पार्टीहरूको लोकतान्त्रिक सुधारमा अवरोधकपितृ नेतृत्व

    नेपालका प्रमुख बामपन्थी दलहरूमा अहिले पनि २०४८ सालदेखि निर्णायक तहमा रहेका अनुहारहरूकै वर्चस्व छ । केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायत पहिलो पुस्ताका पात्रहरूले पार्टीमा बनाएको सिन्डिकेटले नयाँ पुस्ता नेतृत्वमा पुग्न लगभग असम्भव बनाएको छ। उनीहरूले पार्टीभित्र 'जनवादी केन्द्रीयता' को नाममा आफ्ना नालायकी छोप्नका लागि अधिनायकवादी हैकम लादेका छन्।

    दोस्रो र तेस्रो पुस्ताका बामपन्थी नेताहरू क्षमतावान् हुँदाहुँदै पनि उनीहरू 'बा' वा 'अध्यक्ष'को आशीर्वादबिना अगाडि बढ्न सकिँदैन भन्ने मनोकुण्ठाबाट ग्रस्त छन् । फलस्वरूप पछिल्लोपुस्ताका सक्षम बामपन्थी युवा नेतृत्व पनि आन्दोलनको स्वामित्व लिनसक्ने नैतिकता गुमाएर स्खलित भइसकेको छ ।यी पुराना नेताहरूमा आफूबिना पार्टी र देश चल्नै सक्दैन भन्ने स्थापित बलियो अहंकारले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई ध्वस्त बनाउँदा लोकतान्त्रिक अभ्यासको उत्सव हुनुपर्ने महाधिवेशनहरू बैचारिक बहश शुन्य भएर केवल शक्ति प्रदर्शन र टिके नेतृत्व जन्माउने थलो बनेका थिए।

    वर्तमान बामपन्थी नेतृत्वको सत्ताप्रतिको अतिशत मोहमा यस निर्वाचनले पूर्णविराम लगाइदिएको भए तापनि पार्टी सत्तामाथिको नियन्त्रण गुमाउन नचाहेको अवस्था यद्यपी बाँकी नै रहेको देखिन्छ । यो नेतृत्व पार्टी सत्तामाथिको पकड गुम्दा व्यक्तिगत अहंकारको अन्त्य र 'राजनीतिक मृत्यु'को त्रासबाट लखेटिन बाध्य छन् । यस निर्वाचनमा भएको लज्जास्पद पराजयले नागरिकहरू व्यक्त्तिका वरिपरी नभएर विचारका वरिपरी गोलबन्द हुनेरहेछन् भन्ने चेत खुले तापनि सत्यलाई सचेत तवरमा अस्वीकार गरिरहेका यी 'वृद्ध नेतृत्व'ले राजनीतिको मूलधारबाट सन्यास वा अपमानित भएर नलखेटिएसम्म नेतृत्व छाड्ने कुरा स्वैरकल्पना मात्र हुनेछ ।

    'दलाल पुँजीवाद' सँगको सम्बन्धको विच्छेदन

    आजका कम्युनिष्ट पार्टीहरू सर्वहाराका होइन, 'दलाल र बिचौलिया' का साझा क्लब बनेका छन्। ठूला ठेकेदार, मेडिकल माफिया, शैक्षिक दलाल, नीतिगत दलाल, खोले डनहरू र जग्गा दलालहरू नै यी पार्टीका वास्तविक सञ्चालक हुन्। विगतमा यी बामपन्थी नेतृत्व सत्तामा रहँदा यिनै बिचौलियाहरूबाट घेरिएर रहेका विद्रुप दृष्य नदेख्ने कोही वामपन्थी छ र? भन्ने अवस्था थियो । यस निर्वाचनमा यी पार्टीहरूले व्यहोर्ने सम्भावित पराजयसँग यी दलहरू र यसको नेतृत्व पनि स्वार्थ समुहको रूचीबाट बाहिरिएर क्रमशः परित्यक्त बन्दै जानेछन् भने यी 'स्वार्थ समूह' हरू पनि स्वतः अर्को सत्ताधारी दलतिर लाग्नेछन्। यस सम्भावित पराजयले बामपन्थभित्रको विकृति मिल्क्याएर शुद्ध बनाउनेकाम गर्नेछ। बामपन्थी सत्तासिन नहुने अवस्थामा सामाजिक परिचालनका लागि चाहिने निस्ठावान् नेतृत्व र विचारप्रति प्रतिवद्ध कार्यकर्ता मात्र पार्टीको नीति र शक्तिसंरचनामा बाँकी रहन्छन्। त्यसैले, पार्टीलाई दलालहरूको कब्जाबाट मुक्त गराउन पनि सबै बामपन्थीहरूले यसपटकको निर्वाचनमा पराजय हुनै पर्ने थियो, यो राम्रै भएको छ ।

    दोस्रो र तेस्रो पुस्ताका लागि 'ढोका' खुल्ने माध्यम

    नेपाली कम्युनिष्ट पार्टीहरूमा नयाँ पुस्ताको नेतृत्व विकास नहुनुको मुख्य कारण नै पुराना नेताहरू'चुनावबाट बारम्बार अनुमोदित' हुनु हो। उनीहरू बारम्बार अनुमोदन भइरहने हुनाले नितान्त व्यक्तिगत स्वार्थ प्रेरित राजनीतिक जोडघटाउ गरिरहन्छन्। तर, यस निर्वाचनमा भएको पराजयले यी बामपन्थी पार्टीमा जकडिएको पितृ नेतृत्वको अस्तित्वमा नै ठूलो भुइँचालो ल्याएको छ । यो पराजयको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ र अन्ततः त्यो प्रश्नले पुराना नेताहरूलाई सक्रिय राजनीतिबाट बाहिरिँदै पदत्याग गर्न बाध्य बनाउनेछ कि भन्ने देखिन्छ । यो निर्वाचनमा भएकोलज्जास्पद पराजय नै त्यो माध्यम हो, जसले नयाँ र भिजन भएका युवाहरूलाई नेतृत्वमा पुग्न 'नैतिक धरातल' प्रदान गरेको छ। यदि अहिले यी पार्टीहरूले संसदमा सम्मानित संख्यासहित उपस्थिति जनाउन सकेको भए अर्को ५ वर्षसम्म फेरि त्यहीँ थोत्रो अनुहार र त्यहीँ कार्यशैली दोहोरिने दिक्कलाग्दो परिदृष्यका साक्षी बन्न नेपाली समाज अभिसप्त भइरहन्थ्यो । यसले बामपन्थलाई क्षतिबाहेक अन्य कुनै योगदान दिनेछैन। त्यसैले, युवा पुस्ताको उदयका लागि पनि यस निर्वाचनमा ठूला भनिएका कथित बामपन्थी पार्टीहरूको समूल पराजय अनिवार्य छ ।

    वाम एकताको नयाँ र वास्तविक आधार निर्माण

    अहिले बामपन्थी पार्टीहरूबीच एकताको बाँसुरी बजाइ भनेको केवल 'पार्टीमा व्यक्तिगत सत्ताको सौदाबाजी'का लागि मात्र होभन्नु सही हुन्छ । वि.सं. २०७४ मा बनेको नेकपा यसै तथ्यको अकाट्य प्रमाण थियो। जबसम्म यी पुराना नेताहरू रहन्छन्, तबसम्म बामपन्थी नीति, विधि र कार्यक्रमसहित दिगो एकता सम्भव नै हुँदैन। तर, अहिले यी सबै दलहरू पराजित भएर 'शून्य'को स्थितिमा पुगेको अवस्थाका कारण नेपाली राजनीतिक समाजले उनीहरू सक्रिय राजनीतिबाट बाहिरिउन भनेको छ । यसपछि मात्र नयाँ बैचारिक ध्रुवीकरणसहितको 'विचार र सिद्धान्त' प्रेरित बामपन्थी अभियानको पुनर्गठनले गति पाउनेछ । यस विशेष निर्वाचनमा भएको पराजयले नै उनीहरूलाई मपाइँत्वको अहम् ढल्न पुगेका कारण एउटा सुदृढ र लोकतान्त्रिक वामपन्थी शक्तिका रूपमा पुनःगठित हुने अन्तिम अवसर बामपन्थीहरूका सामुन्ने बाँकी रहनेछ ।

    पराजय नै बामपन्थ पुनरुत्थानको पहिलो शर्त

    कुनै पनि राजनीतिक आन्दोलन सधैँ विजयले मात्र सफल हुँदैन। कहिलेकाहीँ एउटा विशद् पराजयले पनि आन्दोलनलाई नयाँ ऊर्जा र दिशा दिन सक्दछ। सन् १९४९ देखिको यो आन्दोलन आज एउटा यस्तो मोडमा छ, जहाँ कि त यो पूर्ण रूपमा समाप्त हुनेछ, कि त यसले आफूलाई सुधार्नेछ ।

    बामपन्थको नेपाली संस्करणलाई सुध्रिने अन्तिम मौका भनेको सत्ताको लोभबाट मुक्त हुनु नै हो।यस सत्तान्ध बामपन्थको पुनः जागरण र जकडनबाट मुक्तिको सम्भावनाको प्रकटन भनेकै यो विशेष निर्वाचनमा भएको अनिवार्य पराजयका कारण नै सम्भव भएको हो । पुराना, अहंकारी र पितृ नेताहरूलाई मत दिएर जिताउनु भनेको नेपालमा समाजवादको घाँटी निमोठ्नु होभन्ने कुरामा कुनै विमति थिएन । त्यसैले, वामपन्थी आन्दोलनलार्इ माया गर्ने हरेक क्रान्तिकारी चेतना बोक्ने नेपाली नागरिकले बर्तमान कर्तव्यच्यूत नेतृत्वलाई निर्वाचनमा पराजित गराउनु र बामपन्थी आन्दोलन पुनः उठाउनका लागि यी नेतृत्वलाई विस्थापित हुन बाध्य बनाउनु नै आजको मुख्य राजनीतिक कार्यभारथियो, जुन पूरा भएको छ ।

    अबको नेपालमा एउटा 'प्रजातान्त्रिक र प्रगतिशील' वामपन्थी शक्तिको उदय हुनको पूर्व शर्त नै निकम्मा, भ्रष्ट र कर्तव्यच्युत बर्तमान बामपन्थी मूल नेतृत्वको राजनीतिक बहिर्गमन नै हो । बामपन्थमा विश्वास राख्नेहरूका लागियस निर्वाचनमा भएको पराजय नै पुराना नेतृत्वलाई बिदा गर्ने र नेपालको संविधानको भावनाअनुसारको वास्तविक समाजवादी यात्रा सुरु गर्ने नयाँ राजनैतिक अभियानको सामुहिक नेतृत्व प्रणाली पुनःस्थापित गर्ने ऐतिहासिक अवसर बन्नुपर्छ। सबै बामपन्थीहरू एकजुट भएर फेरि टाउको उठाउन खोजेको कथित उच्च नेतृत्वलाई दुत्कार्दै बैचारिक रूपमा सबल नेतृत्वको पुनरगठनमा राजनीतिक अभियान सञ्चालन गर्नु बर्तमान समयको माग हो भन्ने कुरा बुझाउनु जरूरी छ ।