२०८३, जेठ ५ गते

May 19 2026 | २०८३, जेठ ५ गते

दुई तिहाईको सरकार मानवताप्रति कति निर्दयी हुँदो रहेछ : नेकपा सांसद सुनार

मंगलवार , जेठ ५, २०८३

  • 163
    Shares
  • 163
    Shares
  • काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीका सांसद भवन बहादुर सुनारले सुकुम्बासी बस्तीबाट हटाएका नागरिकको संरक्षणमा सरकार अनुदार रहेको आरोप लगाउनुभएको छ । 

    मंगलवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सुकुम्वासीमाथि भइरहेको सरकारी व्यवहारप्रति असन्तुष्टी जनाउँदै राज्यको मानवीय संवेदनामाथि प्रश्न उठाउनुभएको हो । उहाँले सेल्टरको नाममा विस्थापित गरिएका वृद्ध, गर्भवती, सुत्केरी, बालबालिका र बिरामीहरूको कारुणिक अवस्था देख्दा पनि राज्य निष्ठुर बनेको टिप्पणी गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘सुकुम्बासी बस्तीको आवाज युद्धपछिको खण्डहर भुमीजस्तै भएको छ, सेल्टरमा राखिएको भन्ने वर्षे झरीमा आफ्नै भुपडीको ओतबाट लखेटिएका वृद्ध, सुत्केरी, गर्भवती, रोगी, बालबालिका रोईरहेको कारुणिक आवाज, आशुका धारा र चित्कारले कस्को पो मन नरोला, धन्य बालेन्द्र सरकार, दुई तिहाईको सरकार कति निठुर हुँदो रहेछ, मानवताप्रति !’ 

    नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको विवादले कानुनी र न्यायिक क्षेत्रमा नकरात्मक असर पर्ने देखिएको बताउनु भयो । न्यायपालिकाको स्वतन्त्रता कुनै पनि हालतमा कमजोर हुन नहुने उहाँको भनाई छ । उहाँकाअनुसार न्यायपालिकालाई स्वतन्त्र राख्नु कार्यपालिका, व्यवस्थापिका र सबै संवैधानिक निकायको साझा जिम्मेवारी हो ।

    उहाँले कामु प्रधानन्यायाधीशले सर्वोच्च अदालत प्रशासनलाई अलपत्र परेका रिट तत्काल दर्ता गर्न दिएको निर्देशन प्रशासनले नमान्नुले न्यायप्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताउनु भयो ।

    उहाँले सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू कार्यकक्ष छाडेर बाहिरिएको घटनाले न्यायिक वृत्त दिनभर तरंगित बनेको उल्लेख गर्नुभयो ।