२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन

बुधवार , बैशाख १६, २०८३

  • 169
    Shares
  • 169
    Shares
  • काठमाडौं, १६ बैशाख ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गरेको छ । 

    मन्त्रालयकाअनुसार वैशाख १५ गतेदेखि देशभरमा ७ सय ५३ वटै स्थानिय तहमा ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने नारासहित अभियान सञ्चालन गरिएको हो । वैशाख ३० गतेसम्म दुई साता सञ्चालन हुने अभियानमा बालबालिकाको पोषण अवस्था पहिचान गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान गरी कुपोषण भएका बालबालिकाको उपचार गरिनेछ । स्वास्थ्य संस्था, स्वास्थ्य केन्द्र, सामुदायिक भवन तथा वडा कार्यालयमार्फत बालबालिकाको पोषण अवस्था सम्बन्धी तथ्यांक संकलन गरिने उहाँले बताउनु भयो ।

    लेखाजोखा कार्यका लागि आधुनिक उपकरण डिजिटल तौल मेसिन, उचाइ र लम्बाई मापन बोर्ड तथा पाखुराको घेराइ नापेर कुपोषणको अवस्था पहिचान गर्ने टेप प्रयोग गरिनेछ । यस अभियानबाट प्राप्त हुने तथ्यांकले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गर्न सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।

    संकलित तथ्यांकका आधारमा स्थानीय, जिल्ला र प्रदेश तहमा कुपोषणको अवस्था विश्लेषण गरिने र त्यसैअनुसार आगामी कार्यक्रम तथा बजेट निर्धारण गरिने मन्त्रालयको योजना छ । मन्त्रालयले लेखाजोखा पश्चात स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्ने जनाएको छ ।

    अभियानले भविष्यमा कुपोषणका कारण बालबालिकामा देखिने शारीरिक कमजोरी, कम प्रतिरोधात्मक क्षमता र अन्य स्वास्थ्य समस्यालाई न्युनिकरण गर्ने लक्ष्य राखेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो ।  

    उहाँले भन्नुभयो, ‘वैशाख १५ गतेदेखि ३० गतेसम्म दुई हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गरिरहेको छ । समयमा नै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार भन्ने नाराका साथ अभियान सञ्चालन गर्न लागेको हो ।

    यसको मुख्य उद्देश्य ६ देखि ५९ महिनाका बालबालिकामा पोषणको लेखाजोखा गर्ने हो । कहीँकतै शिघ्र कुपोषण रहेमा त्यसको छिटो पहिचान र उपचार गर्न सकियोस् भन्ने यसको मुख्य उद्देश्य छ ।

    स्थानीय तह, जिल्ला र प्रदेशमा कुपोषणको स्थिति के छ ? भन्नेकुरा पहिचान होस् र भवियष्का कार्यक्रम बनाउँदा त्यसैमा आधारित भएर बनाउन सकियोस् भन्ने हो । ७ सय ५३ वटै स्थानिय तहमा लेखाजोखा अभियान सञ्चालन हुँदैछ । स्वास्थ्यसंस्था, स्वास्थ्यकेन्द्र, सामुदायिक भवन, वडा कार्यलयमार्फत लेखाजोखा गर्दैछौँ ।

    लेखाजोखा प्राप्त भईसकेपछि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत थप जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नेछौँ । साथै नयाँ के के कार्यक्रम सञ्चालन गनुपर्ने, बजेट कति छुट्याउनुपर्ने भन्ने कुराको पनि पहिचान हुनेछ ।

    भोलीका पुस्ता पोषण नपुगेको कारणले कमजोर भएको, प्रतिरोधात्मक क्षमता कम भएको, आँखा कमजोर भएको, शरिरका अंगप्रत्यांग कमजोर भएको भन्ने स्थिति नहोस् । भोलीको पुस्ता देशको लागी सक्षम, कर्मशील र बलियो पुस्ता तयार गर्ने लक्ष्य हो ।

    यही अनुसार राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गर्देछौँ, यसमा हरेक अभिभावक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नागरिकले यसको संवेदनशीलतालाई बुझेर हरेक स्थानिय तहमा संचालित अभियानमा तथ्य रुपमा जानकारी दिन र सहयोग गर्न मन्त्रालय अनुरोध गर्दछ ।’ 
    मन्त्रालयले अभियानको संवेदनशीलता बुझेर अभिभावक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा नागरिकलाई सही तथ्यांक उपलब्ध गराउन र सक्रिय सहयोग गर्न आग्रह गरेको छ ।