शनिवार , बैशाख १२, २०८३
भैरहवा, १२ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित श्री बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण महोत्सव–२०८३ अन्तर्गत खेलकुद सप्ताह सुरु गरेको छ । खेलकुद सप्ताह अन्तर्गत शुक्रबार सामूदायिक विद्यालयका शिक्षक तथा कर्मचारीबीच भलिबल प्रतियोगिता सम्पन्न भएको खेलकुद संयोजक खगेश्वर भट्टराईले बताउनुभयो ।
बहिरा बाल मावि र रुपन्देही लीलाराम न्यौपाने माविबीच भएको खेलमा आयोजक बहिरा बाल माविलाई रुपन्देही लीलारामले ३–१ को सेटमा पराजित गरेको हो । खेलमा रुपन्देही लीलाराम २७–२५, २५–१९ र २५–१६ ले विजयी भएको हो ।
यसअघि भलिबल प्रतियोगिताको सिद्धार्थनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख (उपसचिव) चेतनशील लम्सालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै लम्सालले बहिरा बाल मावि विद्यालय अरु विद्यालय जस्तो सामान्य अवस्था भन्दा अली विशिष्ट विद्यालय भएको बताउनुभयो । उहाँले श्रवण शक्ति कमजोर भएका विद्यार्थीहरुलाई विद्यालयले विभिन्न किसिमका सीप समेत प्रदान गर्दै आएको बताउनुभयो । ‘यो विद्यालय ५० औं वर्षसम्म आइपुगेकोमा खुसी लागेको छ, ’उहाँले भन्नुभयो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष खगराज पाण्डेले विभिन्न आरोह–अवरोह पार गर्दै विद्यालय यहाँसम्म आइपुगेको बताउनुभयो । हाल विद्यालयमा कक्षा १२ सम्म पठनपाठन भइरहेको उहाँले जानकारी दिनुभयो । ‘आउने दिनमा पनि विद्यालयले प्राविधिक शिक्षा अगाडि लैजाने विश्वास लिएका छौं, ’उहाँले भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापाले विद्यालय यहाँसम्म आइपुग्दा विभिन्न व्यक्ति, पूर्व शिक्षक तथा विभिन्न संघ–संस्थाहरुको धेरै सहयोग रहेको छ । ‘स्वर्ण महोत्सव हाम्रा लागि धेरै महत्वपूर्ण छ । सप्ताहव्यापी कार्यक्रम भलिबल प्रतियोगिताबाट सुरु गरेका छौं । विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सवलाई ऐतिहासिक रुपमा मनाउँदैछौं, ’उहाँले भन्नुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद ढकाल लगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
