शुक्रवार , बैशाख ४, २०८३
भैरहवा, ४ वैशाख । रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मात्र नभइ सम्पूर्ण नेपालीको सरकार भएको बताउनुभएको छ । उहाँले जनताको समस्या समाधानका लागि सरकार अघि बढेको बताउनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान, बधाई तथा छलफल कार्यक्रममा उहाँले जनताको समस्या आफूहरुको पनि समस्या भएको बताउनुभयो । सरकारले मात्र काम गरेर नहुने भएकोले समस्या समाधान गर्न नागरिकको साथ र सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो । ‘विगतका सरकारले गरेका राम्रा परियोजनाहरु अंगालेका छौं । सबैलाई समेट्छौं भन्ने सरकारले उदाहरण पेश गरिसकेको छ, ’उहाँले भन्नुभयो ।
नागरिकको साथ आवश्यक रहेको र सबै मिलेर तथा सहकार्य गरेर हरेक गाउँ, टोल, घरको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ । ‘जुनदेखि सरकारमा आएका छौं, सांसद्हरु एकताबद्ध भएर समस्या समाधानका लागि अघि बढेका छौं, ’उहाँले भन्नुभयो ।
स्वास्थ्य क्षेत्रलाई सुधार गर्न सरकारले आवश्यक कदम चालिसकेको उहाँको भनाइ छ । ‘रुपन्देहीलाई आर्थिक राजधानी बनाउने हामी सबैको चाहना हो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै नै चल्छ भन्ने विभिन्न निकायबाट आश्वासन पाएका छौं, ’डा. थापाले भन्नुभयो ।
ट्राफिक लाईट व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने उहाँले बताउनुभयो । प्रत्येक महिना सवारी दुर्घटना भइरहेको र दुर्घटनाका विभिन्न कारण भए पनि ट्राफिक लाईट नियमित नचल्नु पनि एउटा कारण रहेको उहाँले बताउनुभयो । खाद्य सुरक्षा महत्वपूर्ण कुरा भएको उहाँले बताउनुभयो । खानामा होस पु¥याउन र जे पायो त्यो नखान उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै प्रतिनिधि सभा सदस्य पुनम कुमारी अग्रवालले सम्मान भन्दा प्रश्न गर्न आग्रह गर्नुभयो । ‘हजुरहरुले गर्नुभएको प्रश्नले हामीलाई झकझकाइरहन्छ । जनताको समस्या समाधानका लागि आएका छौं । नेपालले स्थिर सरकार पाएको छ । मुलुक स्थिरताको बाटोमा अघि बढेको छ, ’अग्रवालले भन्नुभयो ।
वर्तमान सरकारले सबै क्षेत्रको समस्या सम्बोधन गर्ने उहाँले दावी गर्नुभयो । ‘पाँच वर्षमा सबै समस्या समाधान हुन्छन् । धैर्यता पनि आवश्यक छ । एकैपटक सबै समस्या समाधान हुन सक्दैन, ’उहाँले भन्नुभयो । आफू उद्योगी भएकोले एउटा उद्योगीलाई उद्योग दर्तादेखि सञ्चालन गर्दासम्म कति समस्या भोग्नुपर्छ भन्ने कुरा राम्ररी बुझेको बताउनुभयो ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीको मुटु हो । यो विमानस्थल छिट्टै नै सञ्चालन हुन्छ, ’उहाँले भन्नुभयो । सांसद् अग्रवालले परिवर्तन आफैबाट सुरु गर्नुपर्नेमा जोड दिनुभयो । सबै आफ्नो ठाउँमा इमान्दार हुनुपर्ने उहाँको भनाइ छ । तस्करीको सामान खरीद नगर्न उहाँले व्यवसायीलाई आग्रह समेत गर्नुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले रुपन्देही सम्भावना भएको जिल्ला भएको बताउनुभयो । उहाँले तस्करीलाई नियन्त्रण गर्न नीतिगत रुपमा नै अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाल–भारत सीमा नाका बेलहियामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा रेले–वे कनेक्टीविटी आवश्यक रहेकोले यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो । यस क्षेत्रको समग्र विकास र आर्थिक चलायमानका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्नेमा उहाँको जोड छ ।
लुम्बिनी करिडोरका उद्योगीलाई उचित क्षतिपूर्ति दिएर उद्योग स्थान्तरण गरे मात्र राहत मिल्ने उहाँले बताउनुभयो । उद्योग, कृषि र पर्यटनको विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको अध्यक्ष रोक्काले बताउनुभयो । नेपालमा कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या मलको रहेकोले मल उद्योग स्थापना आवश्यक रहेको बताउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले जनताको आयस्तर वृद्धि गर्नुपर्ने अहिलेको बहसको विषय भएको बताउनुभयो । उहाँले पर्यटकको बसाई लम्ब्याउने योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले विकृति–विसंगति हटाउन वर्तमान सरकार अघि बढ्नु सराहनीय रहेको बताउनुभयो । ‘देशलाई एउटा दिशानिर्देश आवश्यक छ । देशमा सुशासनको सुरुवात भएको छ । विगतका कमीकमजोरी सच्याएर जाने अवसर आएको छ, ’उहाँले भन्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरेले देशले धेरै वर्षपछि करिब दुईतिहाईको स्थिर सरकार पाएको बताउनुभयो । उहाँले लुम्बिनीको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विगतको सरकारले गरेको प्रयास प्रयाप्त हुन नसकेको बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष राजन विश्वकर्माले सुनचाँदीमा रहेको विलासिता कर हटाउनुपर्ने बताउनुभयो ।
उद्योगी सुरज उप्रेतीले रुपन्देहीलाई आर्थिक राजधानी भनिरहदा आवश्यक अन्य पूर्वाधारहरु पूरा गरेर विकास गर्नुपर्ने बताउनुभयो । उहाँले क्रसर उद्योगलाई खोलासँग जोडेर हेरिने गरेको बताउनुभयो । नदीजन्य पदार्थ उत्खनन्का लागि सीमित समय मात्र तोकिदा समस्या भएको बताउनुभयो ।
किराना तथा प्लाष्टिक व्यवसायी संघ भैरहवा, रुपन्देहीका सचिव झबिन्द्र प्रसाद बेल्बासे सिद्धार्थनगरभित्र रहेका सार्वजनिक जग्गाको खोजी गरेर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । कृषिका लागि मल, खाद, बिउको समस्याको रहेकोले ती समस्या समाधान गर्नुपर्ने उहाँको माग छ ।
स्थानीय मोहन गुरुङले सबैभन्दा ठूलो समस्या ट्राफिक व्यवस्थापन रहेको बताउनुभयो । उहाँले ट्राफिक लाईट नियमित नचलेको बताउनुभयो ।
होटल व्यवसायी रोमकान्त भट्टराईले विद्यालय–क्याम्पस अगाडि चटपटे लगायत जंकफूड विक्रीवितरण भइरहेकोले यसको अनुगमन आवश्यक रहेको बताउनुभयो । स्थानीय रुबी पठानले लागूऔषध दुव्र्यसनमा फसेका युवाहरुलाई सही बाटोमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।
सिर्जनशील साहित्यिक समाजका अध्यक्ष सरु ज्ञवालीले सरकारले नेपाली भाषा, साहित्य क्षेत्रमा चासो दिएर लगानी गर्नुपर्ने बताउनुभयो ।
पर्यटन व्यवसायी श्रीचन्द गुप्ताले नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहिया नाका भएको बताउनुभयो ।
सिद्धार्थनगर–१ का अर्जुन कुमार गिरी सीमाको रक्षा गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा २०८३ सालको भित्तेपात्रो विमोचनका साथै सांसद्द्वय डा. लेखजंग थापा र पुनम कुमारी अग्रवाललाई सम्मान गरिएको चेम्बर अफ कमर्स, रुपन्देहीको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij