२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

भलाई कोषमा ८२ जनाद्वारा रक्तदान

बिहिवार , बैशाख ३, २०८३

  • 184
    Shares
  • 184
    Shares
  • बुटवल, ३ वैशाख । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले आफ्नो ५२ औ स्थापना दिवस एवं ४८ औं साधारण सभाको अवसरमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोषको कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेको अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिनुभयो ।

    संस्थाका मानार्थ सदस्य एवं पूर्व अध्यक्ष कुमार थापाले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । त्यस अवसरमा उनले रक्तदान जस्तो मानवीय र पवित्र कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले यातायात मजदूर तथा व्यवसायी भलाई कोषले यातायात व्ययवसायी र मजदूरहरुको हितमा काम गर्दै आएको स्मरण गर्नुभयो । बेलाबेलामा कोषले गर्ने सामाजिक कार्यक्रमले यसको महत्व थप बढाएको उहाँको भनाइ छ ।

    नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कोषका पदाधिकारी, सदस्य, कर्मचारी, मजदूर तथा व्यवसायीले रक्तदान गरेका थिए । कोषले स्थापना दिवसका अवसरमा विगबतका वर्षहरुदेखि नै रक्तदान कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ ।

    कोषले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी रक्तदान कार्यक्रम गरेको र यसलाई आगामी वर्ष पनि निरन्तरता दिइने अध्यक्ष फुल्लेलले बताउनुभयो । कोषका उपाध्यक्ष छवि थापाले रक्तदान कार्यक्रममा उत्साहजनक सहभागीताले कोषलाई हौसला मिलेको बताउनुभयो ।

    बिरामीहरुलाई रगतको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कोषका महासचिव योग गुरुङले जानकारी दिनुभयो । त्यसअवसरमा कोषले निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो ।