बिहिवार , बैशाख ३, २०८३
काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी व्यवसायीका समस्याप्रति संवेदनशिल हुन आग्रह गरेको छ ।
मुलुकको वर्तमान आर्थिक शिथिलता र साना तथा मझौला व्यवसायीले भोग्नुपरेका समस्याबारे महासंघले अर्थमन्त्री वाग्लेलाई भेटेर ध्यानाकर्षण गराएको हो । महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले वर्तमान व्यापारिक अवस्था निकै नाजुक रहेकोबारे अर्थमन्त्रीलाई भेटेर जानकारी गराएको बताउनु भयो । उहाँकाअनुसार अहिले व्यापार व्यवसाय उक्सिने स्थितिमा छैन । यद्यपी नयाँ सरकार बनेपछि व्यवसायीहरूमा एउटा आशाको किरण भने जागेको छ ।
अहिलेको स्थिति उत्साहजनक नभए पनि सामान्य जीविकोपार्जन मात्र चलिरहेको उहाँको भनाइ छ । कटुवालकाअनुसार देशभरका व्यवसायीहरूलाई खड्किएको एमआरपीको विषयमा अर्थमन्त्री वाग्लेसँग छलफल भएको छ ।
हाल मौज्दात रहेको स्टक र उत्पादित वस्तुहरूमा उपभोक्तालाई सहज हुनेगरी कसरी एमआरपी व्यवस्थापन गर्ने भन्नेमा महासंघले सुझाव दिएको कटुवालले जानकारी दिनुभयो । उहाँकाअनुसार महासंघले स्थानीय सरकारलाई सुम्पिएको घरभाडा नीति स्पष्ट नभएको भन्दै महासंघले सहर र गाउँको वर्गीकरण गरी ‘स्क्वायर फिट’का आधारमा वैज्ञानिक घरभाडा लागू गर्न अर्थमन्त्रीलाई भनेको छ ।
त्यस्तै, बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलतालाई साना व्यवसायीसम्म पु¥याउन ३ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउने व्यवस्था गर्न माग गरिएको छ भने भन्सार नाकाहरूमा तयारी मालवस्तु आयात गर्दा हुने झन्झटिलो प्रक्रिया र दररेटका समस्याहरूलाई समाधान गरी आयात–निर्यातलाई सहज बनाउन ध्यानाकर्षण गराइएको छ ।
संस्थापक अध्यक्ष कटुवालले भन्नुभयो–‘समग्रमा भन्नुपर्दा अहिले व्यापार–व्यवसायको अवस्था एकदमै नाजुक छ । अहिले नै व्यवसाय ह्वात्तै उक्सिने स्थिति नभए पनि हामी एउटा परिवर्तनको मोडमा छौँ । हामी व्यवसायीहरूमा एउटा आशाको किरण भने पलाएको छ । व्यापार उत्साहजनक नभए पनि सामान्य रूपमा जीविकोपार्जन भने अगाडि बढिरहेकै छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले स्थापनाकालदेखि नै देशभरका उद्योगी, विशेष गरी सटर व्यवसायी र साना घरेलु उद्योगीहरूलाई समेटेर उनीहरूका समस्या सरकारका विभिन्न तहमा उठाउँदै आएको छ । तर विगतका सरकारहरूले यी आन्तरिक समस्यालाई कहिल्यै गम्भीरतापूर्वक आत्मसात गरेनन् ।
हामीले किसानका मुद्दा, साना उद्योगीका समस्या, भन्सार यार्डका झन्झट, भन्सार दररेट र आयात–निर्यातका कुरालाई सधैँ प्राथमिकतामा राख्यौँ, तर तत्कालीन सरकारहरूले यसमा ध्यान दिएनन् । हाम्रो महासंघको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूसँग भेटघाट ग¥यौँ । हामीले विगतमा जस्तै हाम्रा माग र ज्ञापनपत्र बुझायौँ ।
यसपटक अर्थमन्त्रीबाट निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ । उहाँले आगामी बजेटमा साना तथा मझौला व्यवसायीका समस्यालाई सम्बोधन गर्ने र बिनाझन्झट काम गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
हामीले मुख्य रूपमा अहिले खड्किएको ’एमआरपी’ (अधिकतम खुद्रा मूल्य) को विषय उठाएका छौँ । हाम्रो आशय एमआरपी नै लगाउनु हुँदैन भन्ने होइन, तर हाल हामीसँग भएको स्टक र उत्पादनलाई कसरी व्यवस्थापन गर्ने र उपभोक्तालाई कसरी सहज ढंगले वस्तु उपलब्ध गराउने भन्नेमा गम्भीर छलफल भएको छ ।
त्यस्तै, भन्सार नाकाहरूबाट तयारी मालवस्तु आयात गर्दा हुने झन्झटिलो प्रक्रिया र त्यहाँको अव्यवस्थालाई सुधार्न पनि हामीले सुझाव दिएका छौँ । अर्को महत्वपूर्ण मुद्दा ‘वैज्ञानिक घरभाडा’ को हो । अहिले घरभाडाको विषयलाई सामान्य रूपमा हेरेर स्थानीय सरकारको जिम्मा मात्र छोडिएको छ ।
हामीले सहर र गाउँको वर्गीकरण गरी स्क्वायर फिटका आधारमा वैज्ञानिक रूपमा घरभाडा लागू हुनुपर्छ भन्ने माग राखेका छौँ । बैंकिङ क्षेत्रमा रहेको तरलतालाई साना उद्योगीहरूसम्म पु¥याउन बिनाधितो ३ प्रतिशतको हाराहारीमा सहुलियतपूर्ण कर्जा व्यवस्थापन गर्नुपर्ने कुरा पनि हामीले जोडदार रूपमा उठाएका छौँ । अर्थमन्त्रीसँगको यो करिब ५० मिनेट लामो छलफल निकै फलदायी रह्यो । साना व्यवसायीलाई यति धेरै महत्व दिएर बुझ्न खोजिएको यो सम्भवतः पहिलो पटक हो ।’
पञ्चायतकालदेखि नै केही सीमित संगठनहरूको मात्रै अर्थतन्त्र सम्बन्धी सुझाव समितिहरूमा वर्चस्व रहेको भन्दै महासंघले अब साना व्यवसायीका संस्थाहरूलाई पनि समावेश गर्न माग गरेको छ । यस विषयमा अर्थमन्त्रीले अब त्यस्तो नहुने बताउनुभएको र सबैलाई सहभागी गराइने भन्दै सकारात्मक प्रतिक्रिया दिनुभएको कटुवालले जानकारी दिनुभयो ।
महासंघको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. वाग्लेसँग करिव एकघण्टा लामो घनिभुत छलफल गरेको थियो । विगतका सरकारहरूले साना व्यवसायी र सटर व्यवसायीका मुद्दालाई उपेक्षा गरेको गुनासो गर्दै कटुवालले यसपटकको भेट सकारात्मक रहेको बताउनु भयो । उहाँका अनुसार अर्थमन्त्रीले आगामी बजेटमार्फत साना तथा मझौला उद्योगीका समस्या सम्बोधन गर्ने र काम गर्ने सहज वातावरण निर्माण गर्ने आश्वासन दिनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij