२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

सडक मानवमुक्त महानगर बनाउने अभियानमा काठमाडौं

बिहिवार , बैशाख ३, २०८३

  • 286
    Shares
  • 286
    Shares
  • काठमाडौं, ३ बैशाख । काठमाडौं महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा र सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापन कार्यलाई तिब्रता दिएको छ । 

    महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्र लगायतका विभिन्न स्थानमा पुगेर सडकमा रहेका नागरिकहरूको उद्धार कार्यको नेतृत्व गरिरहनुभएको हो । महानगरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रममा नराखी पहिले ‘स्क्रिनिङ सेन्टर’मा लैजाने र उनीहरूको आवश्यकताअनुसार वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको छ ।

    पशुपति क्षेत्रमा सडक मानवहरूको संख्या उल्लेख्य रहेकाले उनीहरूको सहज व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा सोही क्षेत्रमा एउटा ‘डेडिकेटेड स्क्रिनिङ सेन्टर’ बनाउने सहमति भएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिनुभयो । उद्धार गरिएका व्यक्तिहरूमध्ये परिवार भएकाहरूलाई पुनर्मिलन गराइने, शारीरिक रूपमा अशक्तलाई अस्पताल लगिने र मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई विशेष उपचार केन्द्रमा पठाइने महानगरको योजना छ ।

    जसको कोही पनि छैन र साच्चिकै सहारा आवश्यक छ, उनीहरूलाई मात्र मानव सेवा आश्रममा स्थानान्तरण गरिनेछ । उद्धार गरिएका कतिपय व्यक्तिहरू पुनः सडकमा फर्किनुको मुख्य कारण ‘व्यवहारगत समस्या’ रहेको डंगोलले औंल्याउनु भयो । 

    उहाँले भन्नुभयो, ‘पशुपति विकास कोषसँग फिल्ड भिजिट गरेर स्क्रिनिङ सेन्टरका लागि ठाउँ तय गरिसकेका छौँ । कोषले उक्त ठाउँको सरसफाई शुरु गरिसकेको छ । अब पशुपति क्षेत्रबाट उद्धार गरिएकाहरूलाई त्यहीँ राखेर परिवार पुनर्मिलन, उपचार वा आश्रम पठाउने भन्ने निर्णय लिन सहज हुनेछ ।

    सडकमा बस्दा रक्सी र लागुऔषध सजिलै पाउने र खुला आकाशमुनिको फ्रिडममा अभ्यस्त भएकाहरूलाई आश्रमको अनुशासनमा बस्न कठिन हुने गरेको पाइएको छ । उनीहरूको व्यवहार परिवर्तनका लागि काउन्सिलिङ र कतिपयलाई रिह्यावको पनि जरुरत देखिएको छ, जसमा हामी काम गरिरहेका छौँ । हाम्रो उद्देश्य भनेको सडकमा कोही पनि बेसहारा भएर कष्टपूर्ण जीवन यापन गर्न नपरोस् भन्ने हो । साच्चिकै सहयोग चाहिनेहरूका लागि महानगरको ढोका सधैँ खुला छ ।’

    यो अभियान पशुपतिमा मात्र सिमित नभई कालिमाटी, स्वयम्भू लगायत काठमाडौंका सबै क्षेत्रमा क्रमशः विस्तार गरिने महानगरले जनाएको छ । कार्यवाहक प्रमुख डंगोलकाअनुसार यो कार्य एक–दुई दिनको मात्र नभई महानगरलाई ‘सहयोगापेक्षी मानवमुक्त’ नबनाएसम्म निरन्तर चलिरहनेछ । 

    पशुपतिनाथ मन्दिर परिसरमा रहेका बेसहारा, अशक्त र सडक आश्रित मानवहरूको उद्धार कार्यमा गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा पनि सहभागी हुनुभएको थियो ।

    बुधवार राति महानगरको टिम पशुपतिनाथ मन्दिर परिसरमा पुगेको थियो । काठमाडौं महानगरपालिका र मानव सेवा आश्रमको संयुक्त पहलमा भइरहेको यस अभियानमा सहभागी हुँदै उहाँले सडकमा रहेका व्यक्तिहरूको पीडा सम्बोधन गर्ने दायित्व राज्यको भएको बताउनु भयो ।

    उहाँले बेसहारा नागरिकको अभिभावक राज्य र स्थानीय सरकार हुनुपर्नेमा जोड दिनुभयो । विगत १०–१२ वर्षदेखि सेवा गर्दै आएको मानव सेवा आश्रमसँग मिलेर आफूले पनि केही वर्षदेखि सेवा गर्ने अवसर पाएको बताउनु भयो ।

    उद्धार गरिएका व्यक्तिहरू पुनः सडकमा फर्किने गरेको बारे बोल्दै छोइङले दीर्घकालीन योजना र मनोवैज्ञानिक परामर्श (काउन्सिलिङ) को आवश्यकता रहेको औंल्याउनु भयो । उहाँकाअनुसार शारीरिक घाउभन्दा मनको घाउ गहिरो हुने भएकाले त्यसलाई सम्बोधन नगरेसम्म समस्या पूर्ण रूपमा समाधान हुँदैन । 

    उहाँले भन्नुभयो, ‘घर परिवारको नमीठो वातावरणले मन पीडामा हुन्छ, त्यही पीडा हल्का पार्न उनीहरूले जाँड–रक्सीको सहारा लिन्छन् । बिस्तारै यो लतमा परिणत हुन्छ र अन्ततः उनीहरू अशक्त र बिरामी बन्न पुग्छन् ।

    आफन्तको दुव्र्यवहार वा वियोगले मनमा लागेको घाउ हामी देख्न सक्दैनौँ । उनीहरूको मनोविज्ञान बुझेर सही काउन्सिलिङ गर्नसके मात्र यो अभियान सफल हुन्छ ।’

    मन्दिर परिसरमा बेसहारा मानिसहरू देखिँदा अन्तर्राष्ट्रिय स्तरमा पनि देशको छविमा असर पर्ने भन्दै उहाँले संविधानमा लेखिएको व्यवस्थालाई व्यवहारमा उतार्नुपर्ने बताउनु भयो । मेयर वा सरकारी अधिकारी एक्लैले सबै काम गर्न नसक्ने भन्दै उहाँले आम नागरिकलाई पनि यस पवित्र कार्यमा ‘होस्टेमा हैँसे’ गर्न अपिल गर्नुभयो । 

    पशुपति क्षेत्रमा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको व्यवस्थापनका लागि विशेष उद्धार तथा स्थलगत अवलोकन अभियान शुरु गरिएको हो । काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, मानव सेवा आश्रम र सुरक्षा निकायहरुको संयुक्त पहलमा यो अभियान अगाडि बढाइएको हो ।

    अभियानमा काठमाडौं महानगरपालिकाका प्रमुख, मानव सेवा आश्रमका अध्यक्ष, पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा कार्यकारी निर्देशक र नेपाल प्रहरीका विशिष्ट पदाधिकारीहरुको सहभागिता रहेको छ । टोलीले पशुपति क्षेत्रका खुल्ला ठाउँमा बसोवास गरिरहेका व्यक्तिहरुको अवस्था पहिचान गरी आवश्यक परेकाहरुलाई उद्धार गर्ने कार्य गरिरहेको छ ।

    काठमाडौं महानगरपालिकाका कर्मचारी वसन्त आचार्यकाअनुसार यो अभियान निरन्तर रुपमा अगाडि बढ्नेछ । उद्धार गरिएका व्यक्तिहरुलाई सुरुमा स्क्रिनिङ सेन्टरमा राखिने र उनीहरुको अवस्था हेरी पारिवारिक पुनर्मिलन गराउने, आश्रममा लगेर सेवा दिने वा आवश्यक जानकारी गराएर घर पठाउने कार्यक्रम रहेको छ । 

    उहाँले भन्नुभयो, ‘पशुपति क्षेत्रमा धेरै समस्याहरु देखिएकाले आज बिहानको अवलोकनपछि बेलुकैबाट यो सेवा शुरु गरिएको हो । निकट भविष्यमै पशुपति क्षेत्र विकास कोषको परिसरभित्र एउटा स्क्रिनिङ सेन्टर पनि सञ्चालनमा आउनेछ ।’

    यस अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी र पशुपति क्षेत्र विकास कोषको प्रहरी टोलीले सामूहिक रुपमा काम गरिरहेका छन् । स्थानीय बासिन्दा र सरोकारवाला निकायहरुको यो सामूहिक प्रयत्नले काठमाडौंलाई सहयोगापेक्षी सडक आश्रित मुक्त शहर घोषणा गर्ने लक्ष्यमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।