२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी प्रदेशका स्थानीय तहले बनाए ६० वटा आइसोलेशन सेन्टर

शनिवार , बैशाख २५, २०७८

रुपन्देही, २५ वैशाख । 
तीव्र रुपमा बढ्दै गएको दोस्रो लहरको कोरोना भाइरसको संक्रमण नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले अग्रसरता देखाएका छन् । संक्रमण पुष्टि भएका र लक्षण नदेखिएका बिरामीहरुलाई उपचार र हेरचाहका लागि प्रदेशका विभिन्न स्थानीय तहमा हालसम्म ६० वटा आइसोलेशन सेन्टर स्थापना गरिएको छ । 

लक्षण देखिएका र गम्भिर प्रकृतिका बिरामीहरुका लागि अस्पतालमा अक्सिजन र आईसीयु अभावका कारण छटपटिनु परेको र कतिपय अवस्थामा ज्यानै जाने क्रम पनि बढेकोले नियन्त्रण र उपचार पद्दतिलाई व्यवस्थित र सहज बनाउन आइसोलेशन सेन्टरहरु बनाइएको हो । हालसम्म प्रदेशका ९ जिल्लाका विभिन्न पालिकामा ६० वटा आइसोलेशन सेन्टरहरु स्थापना भइसकेको र ती आइसोलेशन सेन्टरहरुको बेड क्षमता १ हजार ८३ रहेको प्रदेश सरकारले जनाएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा १३, कपिलवस्तुमा ७, दाङमा १०, बाँकेमा १४, गुल्मीमा ४, अर्घाखाँचीमा ५, प्युठानमा ८ र रुकुममा १ आइसोलेशन सेण्टर निर्माण भइसकेका छन् । बाँकी जिल्लामा पनि आइसोलेशन निर्माणको तयारी तीव्र पारिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार ती आइसोलेशन सेन्टरहरुमा हाल ३ सय ४२  जना संक्रमितको उपचार भइरहेको छ । यीबाहेक प्रदेशमा ४ वटा विशेष कोरोना आइसोलेशन अस्पतालसहित १२ आइसोलेशन अस्पताल छन् । प्रदेशमा होम आइसोलेशनमा १४ हजार ४ सय ३६ जना कोरोना संक्रमित उपचाररत छन् । 

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि स्थानीय तहबाट स्थापना भइरहेका प्रयासमध्ये यी आइसोलेशन सेन्टरहरु पनि प्रभावकारी हुने विश्वास गरिएको रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले बताए ।