सोमवार , मंसिर १, २०८२
काठमाडौं, १ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा भैरहवा क्षेत्रमा ओभरहेड विद्युत लाइनहरूलाई भूमिगत गर्ने विषयमा विस्तृत छलफल भएको छ । मन्त्री घिसिङले यो योजनाप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै चाँडै नै आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
नगरप्रमुख खाँले भैरहवाको कोर सिटी क्षेत्रका मुख्य सडकहरू बंैकरोड, गल्लामण्डी रोड, मैत्रीपथ, नारायणपथ र कोटहीमाई पथमा भूमिगत विद्युत केवल बिछ्याउने योजनाका लागि ४१ करोड ३ लाख ५० हजार रुपैयाँको बहुवर्षीय बजेट माग गर्नुभएको थियो ।
सो अबसरमा मन्त्री घिसिङले भन्नुभयो–‘भैरहवाको तीव्र शहरीकरण र बढ्दो उर्जा मागलाई ध्यानमा राख्दै भूमिगत प्रणाली निर्माणलाई प्राथमिकतामा राख्नेछौं । यो योजनाले विद्युतीय दुर्घटना न्यूनीकरण, शहरको सौन्दर्य वृद्धि र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिनेछ । हामी छिट्टै प्राविधिक टोली पठाएर कार्यान्वयनको तयारी थाल्छौं ।’
भेटमा नगरप्रमुख खानले यो प्रतिबद्धताप्रति हार्दिक धन्यवाद दिँदै भन्नुभयो–‘सिद्धार्थनगर नेपाल–भारत सीमाको व्यस्त व्यापारिक केन्द्र हो । ओभरहेड तारहरूले बारम्बार हुने दुर्घटना र सौन्दर्य ह्रासले हाम्रो शहरको विकासमा बाधा पुर्याइरहेको छ । मन्त्रीज्यूको यो सकारात्मक प्रतिक्रियाले हाम्रो लामो समयदेखिको माग पूरा हुने अपेक्षा छ । यो योजनाले स्थानीयबासीहरूलाई सुरक्षित र भरपर्दो विद्युत सेवा प्रदान गर्नुका साथै पर्यटकीय आकर्षण बढाउनेछ । हामी स्थानीय तहबाट पूर्ण सहयोग गर्न तयार छौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij