२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

राष्ट्रिय आर्थिक गणना शुरु

बुधवार , बैशाख २, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • काठमाडौं, २ बैशाख । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज (वैशाख २ गते) देखि देशभर ‘राष्ट्रिय आर्थिक गणना’ को स्थलगत तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । 
    आर्थिक क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन र रोजगारी विश्लेषणका लागि महत्वपूर्ण आधार र तथ्याङ्क प्रदान गर्ने उद्देश्यले यो अभियान शुरु गरिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले आज एक कार्यक्रमका बीच गणनाको शुभारम्भ गर्दै यसले मुलुकको समग्र आर्थिक निर्णयका लागि ‘मेरुदण्ड’ को रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    डा. पोख्रेलकाअनुसार चैत १ गतेदेखि नै ७७ वटै जिल्लामा आर्थिक गणना कार्यालयहरू स्थापना भइसकेका छन् । काठमाडौँ, मोरङ र रूपन्देही (भैरहवा) जस्ता ठूला जिल्लाहरूमा एकभन्दा बढी कार्यालय गरी देशभर जम्मा ८४ वटा जिल्ला स्तरका गणना कार्यालयहरू सञ्चालनमा छन् । यस गणनाले उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी, सार्वजनिक तथा निजी सबै प्रकारका आर्थिक एकाइहरूलाई समेट्नेछ ।

    विशेष गरी संस्थाहरूको सङ्ख्या, भौगोलिक वितरण, रोजगारीको अवस्था, उत्पादन र सेवा प्रवाह जस्ता विषयहरूमा विस्तृत विवरण सङ्कलन गरिनेछ । तर, अन्तर्राष्ट्रिय अभ्यास अनुसार केही क्षेत्रहरूलाई भने गणनामा समावेश गरिएको छैन ।

    कुटनीतिक निकायहरू, शुद्ध प्रशासनिक सरकारी कार्यालयहरू, सुरक्षा निकायहरू र घरायसी प्रयोजनका लागि मात्र गरिने क्रियाकलापहरूलाई यसमा समेटिएको छैन । यसअघि २०७५ सालमा भएको आर्थिक गणनामा करिव ९ लाख २३ हजार उद्योग प्रतिष्ठानहरू समेटिएका थिए । जसमा ३२ लाखको हाराहारीमा रोजगारीको अवस्था देखिएको थियो । 

    उहाँले भन्नुभयो, ‘आज वैशाख २ गतेदेखि शुरु भएको स्थलगत तथ्याङ्क सङ्कलन कार्य असार ७ गतेसम्म जारी रहनेछ । असार मसान्तसम्म सङ्कलित विवरणहरू केन्द्रमा आइपुग्नेछन् र आगामी आर्थिक वर्षको शुरुदेखि नै प्रारम्भिक प्रतिवेदनहरू प्रकाशन गर्ने हाम्रो योजना छ । ७५ सालको तुलनामा अहिले प्रविधि र हाम्रो क्षमता दुवै बढेको छ । त्यसैले यस पटक अझ विस्तृत, अद्यावधिक र गुणस्तरीय तथ्याङ्क प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’

    तथ्याङ्कको गुणस्तरप्रति कार्यालय अत्यन्त संवेदनशील रहेको बताउँदै डा. पोख्रेलले यस पटक इच्छुक उद्योगी व्यवसायीहरूका लागि ‘ई–सेन्सस’ को प्रावधान पनि राखिएको जानकारी दिनुभयो ।

    यस अन्तर्गत व्यवसायीहरूले विद्युतीय माध्यमबाटै आफ्नो विवरण बुझाउन सक्नेछन् । यस गणनाका लागि आवश्यक गणक र सुपरभाइजरहरूको नियुक्ति तथा तालिम सम्पन्न भई उनीहरू आजैदेखि कार्यक्षेत्रमा खटिसकेका छन् ।