मंगलवार , बैशाख १, २०८३
भैरहवा, १ वैशाख । रुपन्देहीको भैरहवामा अपांगता भएका बालबालिकाको लागि निःशुल्क शारीरिक अपांगता परीक्षण घुम्ती शिविर हुने भएको छ ।
सिद्धार्थनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र विकलाङ्ग मित्र समूह, अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको आयोजना तथा भीम अस्पताल भैरहवाको समन्वयमा उक्त शिविर हुने भएको हो ।
शिविर २०८३ वैशाख ५ गते शनिबार भीम अस्पतालमा बिहान ९ बजेदेखि सुरु हुने सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले जानकारी दिनुभयो ।
एकदिने शिविरमा जन्मजात खुट्टाको पैतालाभित्र फर्केको (क्लब फुट), आगोले पोलेर अंगहरु एकआपसमा टाँसिएको, भाँचिएर बांगो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बांगो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पांग्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र ह्डडीको टि.वि. रोग लागेको, औंलाहरु एकआपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बांगो वा खुस्किएको, अन्य हार्डजोर्नी सम्बन्धि समस्या भएका र सहायक सामग्री तथा कृत्रिम अंगको आवश्यकता भएकोहरुको जाँच गरिने आयोजकले जनाएका छन् । शिविरमा आएर स्वास्थ्य परीक्षण गराउन आयोजकले आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij