मंगलवार , बैशाख १, २०८३
भैरहवा, १ वैशाख । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा, भैरहवाले तातो हावा (लु) सम्बन्धी पूर्वानुमानमा आधारित पूर्वकार्य अभिमुखीकरण गरेको छ । आईएफआरसी र सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा सोमबार भैरहवामा उक्त अभिमुखीकरण भएको हो ।
विगत २ वर्षदेखि सिद्धार्थनगर नगरपालिकासँगको साझेदारीमा तातो हावाबाट हुने असरहरु न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिदै आइएको रेडक्रस रुपन्देही जिल्ला शाखाका सदस्य तथा विपद् फोकलपर्सन महेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । तातो हावाले विशेष गरी कामदार, कृषकहरुलाई बढी प्रभावित गर्ने उहाँले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले ‘हिट एक्सन प्लान’ बनाइएको जानकारी दिनुभयो । उहाँले रेडक्रसले हातेमालो गरेको भन्दै धन्यवाद दिनुभयो । थापाले तातो हावा (लु) बाट बच्न सचेत हुनुपर्ने र पूर्वतयारी आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अभिमुखीकरणले ठूलो अर्थ राख्ने बताउनुभयो ।
अभिमुखीकरणका सहजकर्ता नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय पूर्वानुमानमा आधारित पूर्वकार्य संयोजक प्रमोद अधिकारीले तातो हावाले अस्थायी संरचनामा बस्ने, रिक्सा चालक, मजदूर, सडक व्यापारी, किसानलाई बढी प्रभाव पार्ने बताउनुभयो । उहाँले पूर्वानुमानले विपद्बाट हुने क्षतिको न्यूनीकरणमा सहयोग गर्ने बताउनुभाये ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायको सभापतित्व तथा मन्त्री टेक बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, रेडक्रस सोसाइटीका प्रतिनिधि लगायतको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij