२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

२०८३ सालको फलादेश, विश्वयुद्धको प्रबल सम्भावना

सोमवार , चैत्र ३०, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • काठमाडौं, ३० चैत । प्रसिद्ध ज्योतिषी गुरु देवराज गौतमले विक्रम संवत २०८३ सालको विश्व र नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाबारे भविष्यवाणी गर्नुभएको छ ।

    जगत लग्न र ग्रह गोचरको विचार गर्दा आगामी वर्ष कुटनीतिक क्षेत्रमा द्वन्द्व बढ्ने र विश्वभर सैन्य शक्ति वृद्धिको होडबाजी चल्ने देखिएको छ । गुरु गौतमकाअनुसार २०८३ सालमा युरोप र अरब क्षेत्रमा सैन्य गतिविधिहरू तिब्र हुनेछन् । शक्ति सम्पन्न राष्ट्रहरूबीचको अहंताका कारण विश्व राजनीतिक समीकरणमा नयाँ मोडहरू आउने संकेत देखिएको छ ।

    विकसित देशहरूको मुद्रा बलियो हुने तर कमजोर देशका मुद्राहरू थप अवमूल्यन हुने योग परेको छ । विश्व शेयर बजारमा उतारचढाव आउने, इन्धन उत्पादनमा वृद्धि हुने र विलासिताका सामानको खरिदमा होडबाजी चल्ने फलादेश गर्नुभयो ।

    यद्यपि मूल्यवृद्धिका कारण जनआक्रोश बढ्ने र धेरै देशमा सरकारी हठका कारण राजनीतिक अस्थिरता र आन्दोलनको वातावरण सिर्जना हुने देखिन्छ । संयुक्त राष्ट्र संघको भूमिका भने आगामी वर्ष बढेर जाने देखिएको छ ।

    नेपालको अवस्थाः आर्थिक प्रगति र राजनीतिक खिचातानी

    नेपालको राशि (वृश्चिक) अनुसार विचार गर्दा आगामी मंसिरसम्म भौतिक र आर्थिक क्षेत्रमा केही प्रगति देखिए पनि धार्मिक र सांस्कृतिक क्षेत्रमा अवरोधको योग छ । केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको समन्वय नमिल्दा विवादहरू कायमै रहने गुरु गौतमको भनाइ छ । असारसम्म अर्थतन्त्र प्रतिकूल रहने र वैदेशिक ऋणको भार बढ्ने देखिन्छ ।

    मंसिरपछि भने देशमा केही शुभ संकेतहरू देखिनेछन् । शिक्षा, रोजगार र उपचारका लागि विदेश जानेको संख्या गत वर्षको तुलनामा अझ बढ्नेछ । दक्षिण र पश्चिम सीमा क्षेत्रमा विवाद यथावत रहने सम्भावना छ । कृषि, स्वास्थ्य र बीमा क्षेत्रमा उन्नति हुनुका साथै लगानी बढ्ने योग छ ।

    आगामी वर्ष पहाडी र हिमाली क्षेत्रमा कम पानी पर्ने तर समुन्द्र भएका देशहरूमा बढी वर्षा हुने योग छ । नेपालको सन्दर्भमा उत्तरमा अतिवृष्टि, दक्षिणमा खण्डवृष्टि र मध्य भागमा अल्पवृष्टिको सम्भावना छ । यसले गर्दा शरद ऋतुका बाली उत्पादनमा कमी आउन सक्ने तर ग्रीष्मकालीन बालीमा वृद्धि हुने देखिएको छ ।

    समाजमा महिलामाथि दबाब र अत्याचार बढ्न सक्ने संकेत देखिएको छ । यस्तै, प्रविधिको प्रयोगसँगै अपहरण र जालसाजी जस्ता आपराधिक क्रियाकलापमा पनि बढोत्तरी हुने भविष्यवाणी गरिएको छ । धार्मिक र सामाजिक क्षेत्रमा बौद्धिक खिचातानी बढ्ने गुरु गौतमले बताउनु भयो । 

    यस वर्षका १० प्रतिनिधि ग्रहमध्ये सूर्य र मंगललाई क्रूर मानिए पनि अन्य आठ ग्रह शुभ रहेका छन् । राजा र मन्त्री ग्रह मित्र भएकाले राष्ट्र प्रमुख र सल्लाहकारहरूबीच केही मिलन हुने देखिएको छ । गुरु गौतमकाअनुसार केही चुनौतीहरूका बाबजुद समग्रमा यो वर्ष अन्य वर्षको तुलनामा केही शुभ फलदायी रहने अपेक्षा गर्न सकिन्छ । 

    ज्योतिषी गुरु अर्जुन बास्तोलाले आगामी वर्ष विश्व र नेपालका लागि निकै चुनौतीपूर्ण रहने प्रक्षेपण गर्नुभयो । सिद्धान्त ज्योतिष र सोमिता शास्त्रीको दृष्टिलाई आधार मान्दै गुरु बास्तोलाले अहिले विश्व ‘दारुण काल’ बाट गुज्रिरहेको र यसको अन्त्य तत्काल नदेखिएको बताउनु भयो ।

    उहाँकाअनुसार यो दारुण काल दोस्रो विश्वयुद्धको समयको जस्तै भयावह रहेको छ । ज्योतिषी बास्तोलाले आगामी जेठदेखि असारसम्म विश्वयुद्ध हुने प्रबल सम्भावना रहेको औंल्याउनु भयो । 

    उहाँले भन्नुभयो, ‘असारमा शनि वक्र हुने र वृहस्पति अतिचार भएर मिथुनबाट कर्कट राशिमा प्रवेश गर्ने योग छ। यसले विश्व राजनीतिमा ठूलो उथलपुथल ल्याउनेछ ।’

    आगामी वर्ष जेठ र कार्तिक महिनामा दुईवटा ‘खप्पर योग’ पर्ने भएकाले मानवीय क्षति र युद्धको जोखिम उच्च रहने उहाँको विश्लेषण छ । यस वर्षको मन्त्रिपरिषद्को नेतृत्व (मन्त्री) मंगलले गर्ने र मंगल आफैँमा सेनापति भएकाले फौज परिचालन र लडाइँको अवस्था सिर्जना हुने उहाँले बताउनु भयो । 

    नेपालको सन्दर्भमा बोल्दै गुरु बास्तोलाले आगामी वर्ष धार्मिक भावनामा ह्रास आउने र धर्मको नाममा व्यापार गर्नेहरूको ‘पसल’ बन्द हुने दाबी गर्नुभयो ।आर्थिक अवस्था झन् जर्जर हुने संकेत गर्दै उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र किसानले मल नपाउने जस्ता समस्याले नेपालीको जनजीवन कष्टकर बन्ने बताउनु भयो । 

    ज्योतिषी सुधा भट्टराईले आगामी वर्षको ग्रहगत स्थिति र त्यसले राष्ट्रिय जीवनमा पार्ने प्रभावका बारेमा प्रकाश पारेका हुन् । राष्ट्रिय महिला ज्योतिष संघकी सचिव एवं ज्योतिषी सुधा भट्टराईका अनुसार वि.सं. २०८३ सालको राजा वकृहस्पति र मन्त्री मंगल रहेका छन् । न्याय र धर्मका कारक ग्रह वृहस्पति राजा हुनु र सेनापति मंगल मन्त्री हुनुले यो वर्ष विशेष अर्थ राख्ने उहाँको विश्लेषण छ । 

    मंगल ग्रहले मेसिनरी र औद्योगिक क्षेत्रको प्रतिनिधित्व गर्ने हुनाले यो वर्ष उद्योगधन्दाहरूको विकास हुने योग रहेको छ । भौतिक उन्नतिको साथसाथै नयाँ उद्योगहरू सञ्चालनमा आउने सम्भावना रहे पनि ऋण र भौतिक क्षेत्रमा ह्रास आउने जोखिम पनि उत्तिकै रहेको भट्टराईको भनाइ छ ।

    यो वर्ष शनि मीन राशिमा रहनेछ । शनिलाई न्यायकारक ग्रह मानिने हुनाले देशले केही सकारात्मक परिवर्तनको अनुभव गर्नेछ । पुराना कमजोरीहरूलाई सुधार्दै नयाँ ढंगले अगाडि बढ्ने अवसर प्राप्त हुने र देशले नयाँ कोल्टे फेर्ने सम्भावना रहेको उहाँले बताउनु भयो । 

    ज्योतिषी शिवप्रसाद पोख्रेलकाअनुसार वृहस्पति मानअनुसार यस वर्ष ५४ औँ संवत्सर ‘रुद्र संवत्सर’ चल्नेछ । कुल ६० संवत्सरमध्ये अन्तिम २० वटालाई ‘रुद्र विंशति’ भनिन्छ, जसलाई ज्योतिष शास्त्रमा मध्यम वा अधम फलदायक मानिन्छ । अर्थात रुद्र संवत्सरमा वर्षाको असन्तुलनले कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्न सक्छ ।

    यसले खाद्यान्नको मूल्यवृद्धि गराई जनजीवनमा आर्थिक भार थप्ने सम्भावना रहेको ज्योतिषी पोख्रेल बताउनु हुन्छ । राजनीतिक दृष्टिकोणले हेर्दा विश्वका कतिपय मुलुकमा शासन परिवर्तन र राष्ट्राध्यक्षहरूबीच मनमुटाव हुन सक्ने देखिन्छ ।

    शासकहरूले लिने कठोर निर्णयका कारण नागरिक स्तरमा असन्तुष्टि पैदा हुने जोखिम छ । यस वर्ष आगलागीको जोखिम बढी रहने भएकाले वनजङ्गल र अन्न भण्डारण गरिएका स्थानहरूमा विशेष शतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ ।

    राजा वृहस्पति हुनुलाई शुभ मानिन्छ । वराहमिहिरको बृहत्संहिता अनुसार वृहस्पतिको वर्षमा व्राह्मणहरूद्वारा वेदपाठ बढ्ने, ठूला यज्ञहरूको आयोजना हुने र समाजमा सदाचारको प्रचार हुनेछ । धनसम्पती र पशुधनको वृद्धि हुने तथा समयमा वर्षा भई सर्वत्र समृद्धि छाउने संकेत मिल्छ। यद्यपि, संवत्सरको फल (रुद्र) पूर्ण शुभ नभएकाले यी शुभ फलहरूमा केही कमी आउन सक्ने देखिन्छ ।

    मन्त्रीको पदमा मङ्गल रहनुले केही संघर्षपूर्ण अवस्थाको संकेत गर्छ । यसका कारण समाजमा चोरी, डकैती, तस्करी र विभिन्न रोगव्याधिको प्रकोप बढ्न सक्ने जोखिम छ । आगलागी, दुर्घटना र हिंसात्मक घटनाहरूमा वृद्धि हुन सक्ने भएकाले वातावरण अशान्त रहने सम्भावना छ ।