२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

अनलाईन सट्टेबाजीमा संलग्न रहेको आरोपमा २० जना पक्राउ

आइतवार , चैत्र २९, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २९ चैत । रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा सञ्चालन भइरहेको अवैध अनलाईन बेटिङ (जुवा) मा संलग्न रहेको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतसमेतबाट खटिएको प्रहरी टोलीले अनलाईन बेटिङमा प्रयोग हुने विभिन्न सामानसहित पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो । 

    उहाँका अनुसार गत चैत १७ गते तिलोत्तमा नगरपालिका–७ बाट ९ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरु भारतको दिल्ली, कानपुर, कुशीनगर, गोरखपुर, गोण्डा लगायत विभिन्न स्थानका छन् । ३० वर्षिय प्रदिप गुप्ता, २२ वर्षिय पवन कुमार, २० वर्षिय सतिश कुमार, २१ वर्षिय अमर कुमार, मनु कुमार सोनी, नर सिंह, २४ वर्षिय राम असिस सिंह, ३१ वर्षिय सुदिप तो माझी र २२ वर्षिय अबिशेष ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट ल्यापटप ३ थान, मोबाईल २० थान र हिसाब राख्ने गरेको रजिष्टर ५ थान बरामद भएको छ ।

    त्यस्तै चैत २७ गते तिलोत्तमा नगरपालिका–१५ कोटिहवाबाट ११ जनालाई पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिनुभयो । यहाँबाट पक्राउ पर्नेमा २ नेपाली नागरिक र ९ जना भारतीय नागरिक छन् ।

    भारतीय नागरिकहरु २८ वर्षिय संदिप कुमार, ४३ वर्षिय एम डि हामिक, २६ वर्षिय सतेन्द्र सिंह, ३६ वर्षिय श्याम सुन्दर, २४ वर्षिय दिपक पाण्डे, ३२ वर्षिय रियाज अहमद, ३५ वर्षिय प्रदिप कुमार, ३६ वर्षिय तन्नु कुमारी र ३८ वर्षिय राखी झा पक्राउ परेका हुन् ।

    त्यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका–१ बस्ने ३४ वर्षिय अक्लेश कुमार यादव र सुर्खेत घर भइ हाल तिलोत्तमा–१५ कोटिहवा बस्ने ३८ वर्षिय सिमा रानालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ परेका व्यक्तिहरुको साथबाट भारतीय विभिन्न बैंकहरुको चेकबुक २३ बन्डल, विभिन्न बैंकको एटीएम कार्डहरु २५ थान, नेपाली नगद रुपैयाँ ९१ हजार ७ सय २५, भारतीय पासपोर्ट १ थान, स्टायाम छाप ३ थान, पेनड्राईभ ३ थान, विभिन्न कम्पनीको मोबाईलहरु २१ थान, विभिन्न कम्पनीको ल्यापटप ६ थान, भारतीय विभिन्न व्यक्तिका आधारकार्ड ३० थान र राउटर १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    डीएसपी चन्दले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।