२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

रुकुम पूर्व अस्पतालको नवनिर्मित भवन उद्घाटन

आइतवार , चैत्र २९, २०८२

  • 829
    Shares
  • 829
    Shares
  • रुकुम पूर्व, २९ चैत । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालनमा रहेको रुकुम पूर्व अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रदेश सरकारको १४ करोड रुपैयाँ लगानीमा अस्पताल निर्माण गरिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस ५० शय्याको अस्पतालले अब स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

    संघीयतापछि २०७४ सालमा रुकुम पूर्व छुट्टै जिल्ला बनेपछि साविकको इलाका स्वास्थ्य कार्यालयकै संरचनाबाट जिल्ला अस्पतालको सेवा सञ्चालन हुँदै आएको थियो । सीमित भौतिक संरचना र जनशक्तिका कारण अस्पतालले अहिलेसम्म मुस्किलले १५ शय्यासम्म सेवा दिँदै आएको अवस्था थियो । २०७८ सालमा निर्माण सुरु भएको अस्पताल भवन निर्माण कार्यसम्पन्न भएपछि गत पुस महिनामा हस्तान्तरण गरिएको थियो ।

    लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वस्थित यो अस्पताल अहिले ५० शय्याको क्षमतामा सञ्चालनमा आएको छ । हाल दैनिक करिब १०० जना बिरामीले ओपिडी सेवा लिँदै आएका छन् ।

    अस्पतालबाट अन्तरंग सेवा, फार्मेसी सेवा, विशेषज्ञ दन्त रोग उपचार सेवा, फिजियोथेरापी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, सुत्केरी आमा तथा नवजात शिशु स्वास्थ्य सेवा, सुत्केरी बिरामीका लागि कुरुवा घर, आँखा स्वास्थ्य लगायतका सेवा सञ्चालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खरालले जानकारी दिनुभयो ।

    सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले उक्त भवन उद्घाटन गर्नुभएको हो । साथै नवनिर्मित भवनबाट स्वास्थ्य उपचार सेवा समेत शुभारम्भ गरिएको छ ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । ‘सर्वसुलभ रूपमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न जनशक्तिको अभाव हुन दिएका छैनौं । रिक्त हुँदा बित्तिकै जनशक्ति पठाउने व्यवस्था मिलाएका छौं,’मुख्यमन्त्री आचार्यले भन्नुभयो–‘विशेषज्ञ जनशक्ति पुर्याउन केही चुनौती छन् । ती चुनौतीलाई समाधान गर्ने गरी सरकारले काम गरिरहेको छ ।’

    उहाँले विषयगत विशेषज्ञ चिकित्सक पुर्याउन सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो । रुकुम पूर्वलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको उदाहरण समेत प्रस्तुत गर्नुभयो । उहाँले पूर्वी रुकुमका सबै वडामा सडक पुर्याउन विगतदेखि काम भइरहेको उल्लेख गर्दै आवश्यकता अनुसार बजेटमा प्राथमिकता दिइएको बताउनुभयो ।

    WhatsApp Image 2026-04-12 at 4.00.27 PM.jpegकार्यक्रममा स्वास्थ्य मन्त्री खेम बहादुर सारुले रुकुम पूर्व लगायत विशिष्ट प्रकृतिका क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई विशेषज्ञ चिकित्सक, उपकरण र पूर्वाधारमा बलियो बनाउने गरी काम भइरहेको जानकारी दिनुभयो । ‘दुर्गम क्षेत्रमा जनशक्ति जानै नमान्ने अवस्था थियो । तर, हामीले यो परिपाटी बदल्न सकेका छौं, ’उहाँले भन्नुभयो–‘अब पहिला दुर्गम, अनि बल्ल अन्यत्र पठाउने व्यवस्थापन मिलाएका छौं ।’

    अस्पताल विकास समितिका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा अस्पताल भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला पक्षहरूको उपस्थिति थियो ।